लाभांश पारित र हकप्रद परिमार्जन गर्न यूनाइटेड अजोडले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही असार ३० गते सोमबार आफ्नो ३१औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि मा बिहान साढे १० बजे बस्नेछ।
उक्त साधारणसभाले सञ्चालक समितिले यसअघि नै प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गर्न निर्देशन दिएकाले कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्नेछ।
त्यसैगरी सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाका लागि तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यस कम्पनीले यही असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनी मात्रै सभामा भाग लिन र सो सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।













