एसवाई प्यानल आईपीओ ल्याउँदै, ब्रान्ड विस्तारका लागि ‘फेस अफ एसवाई’ मा करोडौंको प्रतिस्पर्धा

काठमाडौं । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाली शाखा एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीका निर्देशक विमलराज गोसाइँका अनुसार यसका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक आवेदन पेश भइसकेको छ।
चितवनमा उद्योग स्थापना गरेको एसवाई ग्रुपले नेपालमा विभिन्न व्यापारिक गतिविधि विस्तार गरिरहेको छ। एसवाई ग्रुपअन्तर्गत हाल नेपालमा एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज, र एसवाई इन्टरटेन्टमेन्ट प्रालि जस्ता कम्पनीहरू सञ्चालनमा छन्। समूहको ब्रान्ड सुदृढ गर्न र आम उपभोक्ताबीच पहिचान विस्तार गर्ने उद्देश्यसहित एसवाई इन्टरटेनमेन्टले ‘फेस अफ एसवाई’ नामक प्रतिस्पर्धात्मक कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रमको घोषणा राजधानीको तीनकुनेस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो।
प्रतियोगिता २०२५ जुन १ देखि २०२६ जनवरी ३१ सम्म सञ्चालन हुनेछ। चरणबद्धरूपमा अगाडि बढ्ने यो प्रतियोगिताको पहिलो चरणमा इच्छुक सहभागीहरूले एसवाई थिममा आधारित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्नुपर्नेछ। पोस्ट गर्दा ‘एसवाई बजार नेपाल’ र ‘एसवाई कस्मेटिक नेपाल’ लाई ट्याग गर्नुपर्नेछ भने तोकिएका ह्याशट्यागहरू प्रयोग गर्नु अनिवार्य हुनेछ।

प्रथम चरणबाट छनोट गरिएका ५ सय जनालाई दुई हजार रुपैयाँ बराबरको एसवाई बजारको किनमेल भौचर दिइनेछ। यिनैमध्येबाट उत्कृष्ट १५० जना दोस्रो चरणमा प्रवेश गर्नेछन्, जहाँ उत्कृष्ट ५० जनाले थप १० हजार रुपैयाँ बराबरको भौचर प्राप्त गर्नेछन्। त्यस्तै, फाइनल चरणका लागि उत्कृष्ट २५ जनाको छनोट गरिनेछ।
फाइनल चरण प्रत्यक्ष अडिसनको माध्यमबाट काठमाडौंमा सम्पन्न हुनेछ। यस चरणमा सहभागी सबैलाई आवश्यक तालिम दिइनेछ र विभिन्न मूल्यांकन चरणबाट छनोट प्रक्रिया अगाडि बढाइनेछ। अन्तिम प्रतिस्पर्धाबाट विजेता, प्रथम र द्वितीय उपविजेता चयन गरिनेछ।
प्रतियोगिताका विजेताले पाँच लाख रुपैयाँ नगदका साथै एक वर्षका लागि एक करोड रुपैयाँ बराबरको ब्रान्ड कन्ट्र्याक्ट प्राप्त गर्नेछन्। प्रथम उपविजेताले चार लाख नगदसहित ५० लाख बराबरको सम्झौता पाउनेछन् भने दोस्रो उपविजेतालाई तीन लाख नगद र ३० लाख बराबरको ब्रान्ड सम्झौता प्रदान गरिनेछ। बाँकी सात जना फाइनलिस्टले लोकप्रियता अवार्ड अन्तर्गत प्रति व्यक्ति डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
निर्देशक गोसाइँका अनुसार कार्यक्रम निःशुल्क छ र सहभागी सबैका लागि यो ठूलो अवसर हो। कम्पनीले यसमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउने र ब्रान्ड चिनारीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको उनले बताए।
सम्बन्धीत समाचार
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने
आइपीओ निष्कासनको तयारीमा रहेको एसवाई प्यानलको वित्तीय प्रदर्शनमा उल्लेख्य वृद्धि, आम्दानी ६३ करोड













