बजारमा राताम्यले निरन्तरताः कारोबारमा भने चमक, कहिले आउँला मार्केटमा हरियाली ?

काठमाडौँ । शेयर बजार हाल साइडवेज ट्रेन्डमा रहे पनि विश्लेषकहरूका अनुसार यसको पृष्ठभूमि सकारात्मक बन्दै गएको छ । सूचकमा ठूलो उतारचढाव नरहे पनि सीमित स्टकमा सक्रियता देखिएको छ, जसले लगानीकर्ताहरू ‘पर्ख र हेर’को स्थितिमा रहेको संकेत गरेको छ ।
यद्यपि, बैंकिङ प्रणालीमा उच्च तरलता, निक्षेपमा न्यून ब्याजदर, र अन्य क्षेत्रको लगानी सम्भावना खुम्चिँदै गएको अवस्थाले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढाइरहेको देखिएको छ । बैंकहरूले हाल निक्षेपमा मात्र ३–४ प्रतिशत ब्याज दिइरहेका छन्, जसले बचतकर्ताहरूलाई असन्तुष्ट बनाएको छ ।
रियल स्टेट, व्यापार तथा अन्य आर्थिक क्षेत्रहरू पनि निष्क्रिय छन्, जसले गर्दा पूँजी घुमाउनेहरूको ध्यान शेयर बजारतर्फ केन्द्रित हुन थालेको हो । यस्तो अवस्थामा अर्थतन्त्रको सुधारको सम्भावित प्रारम्भ बिन्दु बजार बन्ने विश्लेषण गरिएको छ । बैंकरहरूका अनुसार हाल शेयर धितो कर्जामा माग बढेको छर अन्य क्षेत्रको कर्जामा सुस्तता रहेकाले वित्तीय संस्थाहरू पनि शेयर बजारतर्फको कर्जामा प्राथमिकता दिइरहेका छन् ।
यतिबेला शेयर कर्जामा जोखिमभार घटाइएको छ भने केन्द्रीय बैंकको पछिल्लो रिपोर्टले सेयर धितो कर्जा ३९ प्रतिशतले वृद्धि भएको देखाएको छ। साउन महिनादेखि सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुने र मुनाफा देखिएको खण्डमा लाभांश घोषणा हुने क्रम सुरु हुने भएकाले पनि बजारमा आशावादी संकेत देखिएको हो । कारोवार रकम बिस्तारै बढ्दै गइरहेको छ र आगामी मौद्रिक नीति लगानीमैत्री आएमा पूँजी बजार अझ सक्रिय र स्थिर बन्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.७५ अकंले घटेर २५९८.४४ बिन्दुमा कायम भएको छ। आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
बजार घटेपनि आज विकास बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । आज विकास बैंकको शेयर मूल्य १.१६ प्रतिशतले बढेको हो । साथै अन्य ४ समूहको शेयर मूल्यमा पनि सुधार आएको हो । यसदिन ८ उपसूचक राताम्य भएका छन् ।
बिहिबार ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।













