बजारमा युटर्नः बैंकिङ क्षेत्रका लगानीकर्तामा उत्साह, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । तीन दिनको गिरावटपछि आज शेयर बजारमा सुधार देखिएको छ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अड्किएको बजारले युटर्न लिने संकेत दिएको हो ।
सूचक २६ सयको मनोवैज्ञानिक विन्दु आसपास आएपछि बाउन्स ब्याक हुने क्रमले बजारमा स्थायित्व देखिएको छ । यद्यपि, २७ सय पार गर्ने अवस्थामा पुग्न नसकेको नेप्से हाल २५ सयदेखि २८ सयको फ्रेममा घुमिरहेको विश्लेषकहरु बताउँछन् । लगानीकर्ताहरु भने अब बजार चुलिने सम्भावनाको प्रतीक्षामा छन् ।
अहिलेको अवस्था हेर्दा बैंकिङ प्रणालीमा प्रशस्त तरलता छ र ब्याजदर निकै सस्तो बनेको छ, जुन बजारका लागि सकारात्मक पक्ष हो । तर, ठूला लगानीकर्ताको संलग्नता अझै कमजोर देखिएको छ । फन्डामेन्टल पक्ष बलियो भएका कम्पनीहरुको मूल्य अझै ठप्पजस्तै देखिनुका पछाडि पर्याप्त कारोबार रकम नहुनु मुख्य कारण हो । त्यसमाथि बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबार निषेध गरिएको अवस्था अझै यथावत् छ, जसले बजारको गति सुस्त बनाएको छ ।
लगानीकर्ताहरु अब असार–साउन महिनाबाट बजारमा नयाँ उर्जा आउला भन्ने आशामा छन्। वार्षिक वित्तीय विवरण र लाभांश घोषणा सुरु हुने क्रमसँगै बजारमा सकारात्मक भावना बलियो हुने अपेक्षा गरिएको छ। त्यस्तै, शेयर धितो कर्जाको सीमा खुकुलो बनाउने र अल्पकालीन कारोबारलाई सहज बनाउने व्यवस्था आगामी मौद्रिक नीतिबाट आउने सम्भावनाले पनि आशा जगाएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०९ अकंले बढेर २६२५.८४ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको १ करोड ६६ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोडको शेयर कारोबार भएको छ ।
यसदिन, १२ उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको शेयर मूल्य सर्वाधिक २.१६ प्रतिशतले बढेको हो। साथै, विकास बैंक समूहको १.६७ प्रतिशत, फाइनान्स समूहको ०.६८ प्रतिशतले शेयर मूल्य बढेको छ।

आइतबार १८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको घटेको छ ।












