पुँजी बजारमा चमकः लघुवित्तमा देखियो उत्साह, अब बजार लयमा फर्किएको हो ?

काठमाडौँ । पछिल्ला केही दिनयता शेयर बजार हरियाली देखिन थालेको छ । झिनो अकंले घटबढ भइरहेको बजारमा पछिल्लो तीन दिनमा भने उच्च सुधार देखिएको हो । बजारमा देखिएको रौनकको मुख्य कारण खरिदकर्ताको आकर्षणमा आएको वृद्धि हो ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर समेत ऐतिहासिक रूपमा न्यून स्तरमा रहँदा बजार सुधारका लागि अनुकूल वातावरण बनिरहेको छ । यसले नयाँ तथा पुराना दुवै लगानीकर्तालाई आकर्षित गर्न सक्ने आधार तयार पारेको छ । तर, फन्डामेन्टल हिसाबले बलिया कम्पनीहरूको मूल्यमा अपेक्षित वृद्धि भइरहेको छ ।
अब वार्षिक वित्तीय विवरण प्रकाशन र लाभांश घोषणाको समय नजिकिँदै जाँदा बजारमा नयाँ गतिशीलता देखिने अपेक्षा गरिएको छ । आगामी मौद्रिक नीतिले शेयर धितो कर्जाको सीमा खुकुलो पार्ने संकेतले पनि लगानीकर्ताबीच नयाँ आशा पलाएको छ, जसले बजारमा सकारात्मक मनोविज्ञान बलियो बनाउन सहयोग पुग्ने सम्भावना छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.४४ अकंले बढेर २६६२.९२ बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन, १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.२० प्रतिशत, विकास बैंक समूहको १.०१ प्रतिशत, फाइनान्स समूहको ०.७५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७३ प्रतिशत, हाइड्रोपार समूहको १.३६ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, आज सर्वाधिक इन्भेष्टमेन्ट समूहको ०.६० प्रतिशत र माइक्रोफाइनान्स समूहको २.४१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार २१७ कम्पनी शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ ।












