पुँजी बजारमा चमकः कारोबार रकममा उछाल, जीवन बीमा र फाइनान्सका लगानीकर्ता मालामाल

काठमाडौँ । पछिल्ला दिनहरूमा नेपाली पुँजी बजारमा हरियाली देखिन थालेको छ, जसले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको छ । लामो समयसम्म स्थिर देखिएको बजारमा चार दिनदेखि उल्लेखनीय सुधार देखिएको हो ।
विशेष गरी लगानीकर्ताको खरिद आकर्षण बढेपछि कारोबारमा पनि वृद्धि देखिएको छ, जसले सूचकहरू हरियो बनाएका छन् । बजारमा देखिएको यो सुधारको पछाडि बैंकिङ प्रणालीमा प्रशस्त तरलता र हालको ऐतिहासिक रूपमा न्यून ब्याजदरले ठूलो भूमिका खेलेको छ । यी सकारात्मक संकेतहरूले विशेष गरी बलिया कम्पनीहरूको सेयर मूल्यमा वृद्धिलाई टेवा दिएको छ । यसले दीर्घकालीन तथा छोटो अवधिका दुबै प्रकारका लगानीकर्तालाई पुँजी बजारतर्फ आकर्षित गरिरहेको देखिन्छ ।
अहिले वार्षिक वित्तीय विवरण तथा लाभांश घोषणाको समय नजिकिदै गर्दा बजारमा थप गति आउने अपेक्षा गरिएको छ । साथै, आसन्न मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा खुकुलो पारिने सम्भावनाले लगानीकर्ताको मनोबल अझै बढाएको छ । यी सबै कारणले गर्दा बजारमा सकारात्मक धारणा विस्तार हुँदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६० अकंले बढेर २६९५ बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्र्ब ७४ करोड ४८ लाख रुपैयाँको कारोेबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ । आज जीवन बीमा समूहको २.८५ प्रतिशत, फाइनान्स समूहको २.१७ प्रतिशत, बैंकिङ समूहको १.३९ प्रतिशत, विकास बैक समूहको १.९३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

ब्ुधबार १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ ।












