पुँजी बजारमा निरन्तर रौनकः फाइनान्सका लगानीकर्ता मख्ख, कस्तो हुन्छ अबको यात्रा ?

१९ असार २०८२, बिहीबार १५:०८

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार पाँच दिनदेखि हरियाली देखिएको छ । बजारको यो सकारात्मक लयसँगै लगानीकर्तामा उत्साह थपिएको छ भने कारोबार रकम पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । अघिल्लो समय असारदेखि बजार सुस्त देखिए पनि पछिल्लो सुधारले लगानीकर्तामा आशावाद बढेको छ ।

हाल बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदरसमेत ऐतिहासिक रूपमा सस्तो बिन्दुमा रहेको अवस्थामा धेरै लगानीकर्ता ऋण लिएर सेयर बजारमा सक्रिय भएका छन् । मूल्य करेक्सन भएर सस्तो भएको कारणले पनि लगानीकर्ताको आकर्षण बढेको हो । यसले सेयर खरिद–बिक्रीको संख्यामा समेत वृद्धि गराएको छ, जुन बजारका लागि दीर्घकालीन रूपमा सकारात्मक संकेत मानिन्छ ।

असार मसान्त सकिन लागेको र अब सूचीकृत कम्पनीहरूले आ–आफ्ना वित्तीय विवरण सार्वजनिक गर्ने समय सुरु हुँदैछ । त्यसको केही समयमै लाभांशको घोषणा हुने भएकाले अहिले लगानी गर्नेहरूले छोटो अवधिमै प्रतिफल हात पार्न सक्ने सम्भावना उच्च छ । यिनै कारणले सेयर बजारमा आगामी दिनमा अझ सकारात्मक गति कायम रहने विश्लेषण गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अकंले बढेर २७०५.८१ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन फाइनान्स कम्पनीका लगानीकर्र्ता मालामाल भएका छन् । आज फाइनान्स समूहको शेयर मूल्य ४.०९ प्रतिशतले बढेको हो । साथै, निर्जीवन बीमा समूहको २.२४ प्रतिशत, म्युचुअल फण्ड समूहको १.२४ प्रतिशत, जीवन बीमा समूहको २.५६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बिहिबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*