६३ अर्बको शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ६३ अर्ब ५० करोड रुपैयाँको शेयर सूचीकृत भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा उक्त शेयर सूचीकृत भएको हो ।
समीक्षा अवधिमा रु.२३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु.२२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन्।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिबेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।













