बजार फेरी हरियालीः परिसूचक २७ सयमाथि उम्किलो, अबको यात्रा रौनक नै हो ?

काठमाडौँ । मंगलबार सामान्य करेक्सन देखिएको शेयर बजार आज पुनः सुधारको बाटोमा लम्किएको छ । बजार आज दोहोरो अकंले बढ्दा लगानीकर्तामा उत्साह आएको हो ।
अहिले बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता र निक्षेपमा न्यून ब्याजदरले गर्दा लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडिएको देखिन्छ। बचत खातामा ३ देखि ४ प्रतिशतसम्म मात्र ब्याजदर पाइने र मुद्दती निक्षेपमा समेत कम ब्याजदर दिइँदा धेरैले बैंकबाट पैसा झिकेर सेयर बजारमा लगानी गर्न थालेका छन्। यसैगरी, अन्य लगानी क्षेत्रहरू जस्तै रियल स्टेट र व्यापार–व्यवसाय मन्दीको अवस्थामा रहेको हुँदा सेयर बजारले अर्थतन्त्र सुधारको नयाँ अवसरको रूपमा देखिन थालेको छ।
केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार सेयर धितो कर्जा ३९ प्रतिशतले वृद्धि भएको छ भने ठूलो कर्जाका लागि जोखिमभार पनि घटाइएको छ। यसले ठूलो लगानीकर्ताहरूलाई सेयर बजारमा आकर्षित गरिरहेको छ। बैंकहरूले समेत सेयर धितो कर्जामा जोड दिंदै गर्दा बजारमा कर्जाको माग बढेको र त्यसले सेयर मूल्य बढाउन सहयोग गर्ने विश्लेषणहरू गरिएका छन्। साथै, असार र साउन महिनामा सेयर बजार प्रायः सकारात्मक हुने इतिहास रहेकोले लगानीकर्तामा उत्साह देखिएको छ।
यसैबीच, साउन महिनादेखि सूचीकृत कम्पनीहरूले वार्षिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् जसले मुनाफा बढेको देखाउँदा सेयर बजारमा थप सकारात्मक प्रभाव पार्ने विश्वास छ। लाभांश घोषणा सुरु भएसँगै सेयर कारोबार रकममा वृद्धि हुँदै बजारमा सहभागीको संख्या पनि बढ्दै गएको छ। आगामी मौद्रिक नीतिले पनि सहज र लगानीमैत्री स्वरूप लिएमा पुँजी बजारमा थप स्थिरता र विकास आउने अपेक्षा गरिएको छ।
आज नेप्से २३.९९ अकंले बढेर २७०७.८५ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर किनबेच हुँदा ७ अ र्ब ४५ करोडको कारोबार भएको छ ।
यसदिन वाणिज्य बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । बैंक समूहको शेयर मूल्य १.९० प्रतिशतले बढेको हो । साथै, इन्भेष्टमेन्ट समूहको १.५० प्रतिशत, विकास बैंकको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको घटेको छ ।













