पुँजी बजारमा हरियालीः बैंकिङ समूहमा चमक, मौद्रिक नीतिले बनाउँला त मख्ख ?

२६ असार २०८२, बिहीबार १५:०८

काठमाडौँ । शेयर बजारमा हाल निरन्तर उत्साह र हरियाली कायम छ । आगामी मौद्रिक नीतिले सहज र लगानीमैत्री नीति अपनाउने अपेक्षा गरिएको छ । गभर्नर विश्व पौडेललाई लगानीकर्ताले प्ुँजी बजारमैत्रीका रुपमा लिएका छन् । जस कारण बजारमा थप उत्साह मौद्रिक नीतिले ल्याउने विश्वास गरिएको छ। पुँजी बजारमा थप स्थिरता र विकासको बाटो खोल्ने विश्वास विश्लेषकहरू र लगानीकर्ताबीच छ । निरन्तर उत्साहका साथ बढिरहेको शेयर बजारले अर्थतन्त्रलाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण योगदान दिने आशा गरिएको छ ।

बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता र निक्षेपमा न्यून ब्याजदरले लगानीकर्ताहरूको ध्यान शेयर बजारतर्फ झुकिरहेको छ । बचत खातामा मात्र ३ देखि ४ प्रतिशतसम्म ब्याजदर पाइने र मुद्दती निक्षेपमा समेत कम लाभांश हुने भएपछि धेरैले बैंकमा पैसा राख्नुभन्दा शेयरमा लगानी गर्ने पक्षलाई प्राथमिकता दिएका छन् । रियल स्टेट तथा व्यापार–व्यवसाय मन्दीको अवस्थामा हुँदा शेयर बजारले अर्थतन्त्र सुधारको नयाँ अवसरको रूपमा आफ्नो भूमिका सुदृढ बनाउँदै गएको छ ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार सेयर धितो कर्जा ३९ प्रतिशतले वृद्धि भएको छ, जसले ठूलो लगानीकर्ताहरूलाई बजारतर्फ आकर्षित गरेको छ । साथै, ठूलो कर्जाका लागि जोखिमभार घटाइएको हुँदा बैंकहरूले सेयर धितो कर्जा प्रवाहमा विशेष जोड दिइरहेका छन् । यसले बजारमा कर्जाको माग बढाएर सेयर मूल्यलाई सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ । असार र साउन महिनामा परम्परागत रूपमा सेयर बजारमा सकारात्मक उछाल आउने भएकाले पनि लगानीकर्ताको उत्साह बढेको देखिन्छ ।

साउनदेखि सूचीकृत कम्पनीहरूले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन्, जसले धेरै कम्पनीको मुनाफा बढेको देखाएको छ । यसले सेयर बजारमा विश्वास थप मजबुत बनाउँदै बजारमा सहभागीहरूको संख्या र कारोबार रकम दुवै बढाउने काम गरिरहेको छ । लाभांश घोषणा क्रमशः सुरु भएसँगै बजारमा थप गतिशीलता देखिन थालेको छ, जसले लगानीकर्तामा थप उत्साह भर्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१५ अकंले बढेर २७३३.०६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन वाणिज्य बैंकको शेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । आज उक्त समूह ३.१५ प्रतिशतले बढेको हो । साथै, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१९ प्रतिशत, जीवन बीमा समूहको ०.१९ प्रतिशत र माइक्रो फाइनान्स समूहको १.७५ प्रतिशतले बढेको हो ।

बिहिबार माइक्रोफाइनान्स समूह र व्यापार समूहको शेयर मूल्य भने घटेको छ ।

आज१६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*