लघुवित्त संस्थाको चर्को ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको निर्णय

२६ असार २०८२, बिहीबार २१:३९

काठमाडौं । लघुवित्त कम्पनीको चर्को ब्याजदर नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंकको निर्णय गरेको छ ।राष्ट्र बैंकले लघुवित्तहरूले कर्जामा लिने ब्याजदरको सन्दर्भमा नयाँ व्यवस्था ल्याउदै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मासिकरुपमा प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भएबमोजिम वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत बिन्दुले थप गर्दा आउने दरभन्दा बढी नहुने गरी कर्जाको ब्याजदर निर्धारण गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले प्रत्येक तीन महिनामा आधार दर गणना गरी सार्वजनिक गर्नुपर्ने र राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ।

लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकहरु औषत आधार दरमा ९ प्रतिशित थप गर्दा कायम हुने ब्याजदर वा लघुवित्त वित्तीय संस्थाहरुको आधार दरमा ३ प्रतिशत प्रिमियम थप गर्दा जुन कम हुन्छ त्यही ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।

उदारणका लागि गत जेठको वाणिज्य बैंकहरुको औषत आधार दर ६।०९ प्रतिशत रहेको र यसमा राष्ट्र बैंकको नियमअनुसार ९ प्रतिशत थप गर्दा लघुवित्त संस्थाहरुको ब्याजदर १५।०९ प्रतिशत कायम हुन्छ। लघुवित्त वित्तीय संस्थाहरुले ऋणीसँग १५।०९ प्रतिशतभन्दा बढी ब्याजदर लिन पाउँदैनन्।

अर्कोतर्फ लघुवित्त वित्तीय संस्थाहरुको आधार दरमा ३ प्रतिशत प्रिमियम थप गर्दा ब्याजदर १६ प्रतिशत भएमा पनि यस्ता संस्थाहरुले दुईमध्ये कम १५।०९ प्रतिशत नै ब्याजदर लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। लघुवित्त वित्तीय संस्थाहरुले हर्जना ब्याजदर २ प्रतिशतभन्दा बढी नहुने गरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औषत आधार दरमा भएको थपघटको सीमासम्म त्रैमासिकरुपमा परिवर्तन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

लघुवित्त वित्तीय संस्थाहरुले स्थिर ब्याजदर र परिवर्तनशील ब्याजदर नियमितरुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*