बुंगल हाइड्रोको आईपीओ बिक्रीमा, कसले र कति कित्तासम्म दिने आवेदन?

२९ असार २०८२, आईतवार ०६:३१

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

अनुमति पाएसँगै कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ जारी गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको छ।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन पाउनेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा नम्बर १) का स्थानीय बासिन्दा रहेका छन्।

त्यस्तै २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।

आवेदन दिंदा कम्तीमा १० कित्ता आईपीओका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम मिति साउन ११ गते रहेको छ तर यो अवधिभित्र आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा साउन २६ गतेसम्म लम्बिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*