मौद्रिक नीतिलाई हरियो कार्पेटले स्वागतः बैंक र लघुवित्तका लगानीकर्ता मालामाल, कारोबारमा रौनक

२९ असार २०८२, आईतवार १५:०४

काठमाडौँ । मौद्रिक नीतिलाई शेयर बजारले हरियो कार्पेटले स्वागत गरेको छ । गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शेयर धितो कर्जा सीमा १५ करोडबाट बढाएर २५ करोड पु¥याएका छन् । सोहि कारण बजारमा उत्साह देखिएको छ ।

नीतिगत दर घटाएर सस्तो कर्जाको सम्भावना बढाएको तथा लघुवित्तको १५ प्रतिशत लाभांश क्याप हट्ने संकेत दिएको हुँदा लगानीकर्तामा आत्मविश्वास थपिएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न किसिमका राहत दिइएको हुँदा पूँजी बजारमा तरलता बढ्ने र आर्थिक चक्रलाई सक्रिय बनाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ । पहिलोपटक घर किन्नेका लागि ३ करोड रुपैयाँसम्म कर्जाको व्यवस्था, स्टार्टअप र युवा उद्यमीका लागि कर्जामा अधिकतम २ प्रतिशत ब्याजदरको प्रावधान तथा विदेश यात्रामा लैजान मिल्ने डलर सीमा ३ हजार पु¥याइनुजस्ता प्रस्तावहरू व्यापक स्वागतयोग्य बनेका छन् ।

नियमन खुकुलो बनाउँदै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नेसम्मको अवधारणाले पूँजी बजारको दायरा फराकिलो पार्ने संकेत गरेको छ । शेयर बजारसँग प्रत्यक्ष सरोकार राख्ने यस नीतिले आम लगानीकर्ताको मनोबल बढाएको छ भने बैंक तथा वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा अग्रसर हुने अपेक्षा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.३५ अकंले बढेर २७६२.१५ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ३ करोड २४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ३५ करोडको कारोबार भएको छ ।

आज वाणिज्य बैंकको ३.५४ प्रतिशत र माइक्रोेफाइनान्सको ३.६६ प्रतिशतले शेयर मूल्य बढेको छ। यसदिन १५८ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*