एक दिनमै हरायो उत्साह: बजार राताम्य हुँदा ८ अर्बको कारोबार, करेक्सन कि गिरावट ?

काठमाडौँ । शेयर बजार सोमबार भारी गिरावटसँगै राताम्य भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएको घोषणा भएपछि आइतबार बजारमा हरियाली देखिएको थियो । तर, लगानीकर्ताको त्यो उत्साह एक दिन पनि टिक्न सकेन ।
सोमबार शेयर बजार ओरालो लाग्यो, जसले गर्दा लगानीकर्ताको मनोबल पुनः खस्किएको छ । मौद्रिक नीति शेयर बजारमैत्री देखिए पनि समग्र बजारको अवस्था सुधारोन्मुख हुन नसकेको प्रष्ट देखिएको छ । धेरैजसो समूहका सूचक राताम्य भएका छन् भने कारोबार रकम समेत घटेको छ ।
बजार विश्लेषकहरूका अनुसार आइतबारको हरियाली पछिको गिरावटलाई कतिपयले ‘करेक्सन’ का रूपमा हेरेका छन् । तर, लगानीकर्तामा अझै अन्योल कायमै रहेको छ । उनीहरू अझै पर्ख र हेरको रणनीतिमा रहेका छन्, जसले गर्दा बजारमा स्थायित्व आउन समय लाग्न सक्ने देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अकंले घटेर २७२८.८० बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको कारोबार भएको छ ।
हिजो सर्वाधिक बढेको वाणिज्य बैंक समूह आज सर्वाधिक ओरालो लागेको छ । आज वाणिज्य बैंक समूहको २.२५ प्रतिशतले घटेको छ । साथै, विकास बैंकको १.४३ प्रतिशत, जीवन बीमा समूहको १.२९ प्रतिशत र माइक्रोफाइनान्स समूहको १.०१ प्रतिशतले शेयर मूल्य घटेको छ ।














