पुँजी बजारमा बुलः परिसूचक २९७४ बिन्दुमा पुग्दा मख्ख लगानीकर्ता, ३२ सय पार गर्ला ?

काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएयता नेपाली शेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ । पुँजी बजारमा निरन्तर हरियाली छाउँदा लगानीकर्ताहरू उत्साहित भएका छन् । बजार उच्च अंकले बढिरहेकाले धेरैले मनग्य नाफा बटुलेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले शेयर बजारप्रति देखाएको लचिलो र सकारात्मक दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि सरल प्रावधान र लगानीकर्ताका मुख्य मागहरू समेटिएको हुँदा बजारमा आशावाद फैलिएको छ । नीतिगत स्पष्टता र सहुलियतले गर्दा नेप्से सूचकमा उल्लेखनीय वृद्धि आएको हो ।
बजारको सुधारमा तरलताको प्रचुरता पनि महत्वपूर्ण कारण हो । बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेकाले कर्जाको ब्याजदर घटेको छ, अधिकांश बैंकहरूको ब्याजदर ८ प्रतिशतभन्दा तल झरेको छ । यसले बैंकमा बचत गर्नुको सट्टा पूँजी बजारमा लगानी गर्ने प्रवृत्तिमा वृद्धि ल्याएको छ, जसले बजारलाई अझ थप ऊर्जा दिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८१.७७ अकंले बढेर २९७४.५० बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज माइक्रोफाइनान्स समूहको ४.१० प्रतिशत, विकास बैंक समूहको २.३४ प्रतिशत, वाणिज्य समूहको २.१० प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत र होटल तथा पयर्टन समूहको ३.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ ।












