चिवतनको सिराइचुली होटलले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्ग

७ श्रावण २०८२, बुधबार ११:१४

काठमाडौं । चितवनमा रहेको होटल सिराइचुली लिमिटेडले निकट भविष्यमा आईपीओ ल्याउने भएको छ। आईपीओ ल्याउनका लागि होटलले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

होटल सिराइचुलीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्काशन गर्ने बताएको हो।

पर्यटकीय नगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले युक्त चार तारे होटल हो।

यसमा समकालीन आवास, मल्टिकुजिन रेष्टुरेन्ट, ३ बैक्वट हल, ५ वटा बोर्डरुमहरु, इन्फिनिटी स्विमिङ्ग पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा सहित उच्चस्तरीय सुविधा सम्पन्न कोठाहरु रहेका छन्। चितवनको व्यस्त शहरको बीच भागमा रहेको होटल सिराइचुलीबाट हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन समेत गर्न सकिन्छ।

आज भएको सो सम्झौतामा होटल सिराइचुली लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष चुडामणी खनाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

निष्काशन कम्पनीका प्रबन्ध संचालक विष्णु कुँवर तथा कम्पनीका संचालक बाबुराम उपाध्यायको रोहवरमा सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*