निरन्तर बढ्दै पुँजी बजारः परिसूचकमा रौनक, उतारचढाव लगानीकर्ताका लागि अवसर कि जोखिम?

काठमाडौँ । नेपाली शेयर बजारमा लगातार आठ दिनसम्म सुधार देखिएको छ । केहि समयअघि उच्च अकंले बढी रहेको बजार पछिल्लो समय सूचकमा तीव्र उतारचढाव पछि झिनो सुधार देखिन लागेको हो । कारोबार सुरु हुँदा सूचकमा उत्साहजनक वृद्धि देखिए पनि दिनभरिमा बजार पटक–पटक तलमाथि हुने प्रवृत्तिले लगानीकर्ता अन्योलमा परेका छन् । विशेषगरी नयाँ तथा अनुभवहीन लगानीकर्ता बजारको वृद्धिप्रति आशावादी बन्दै सक्रिय भएका थिए तर हालको परिवेशले उनीहरूलाई सचेत हुन आवश्यक देखिएको छ ।
बजारमा यस किसिमको उतारचढाव आइरहँदा ठूलो लगानीकर्ताको प्रभाव बढी रहने विश्लेषकहरूले औंल्याउने गरेका छन् । यस्ता परिस्थितिमा साना लगानीकर्ता बढी जोखिममा पर्ने सम्भावना उच्च हुन्छ, किनभने उनीहरू प्रायः बजारको चापमा निर्णय लिने गर्दछन्। बजार निरन्तर बढिरहँदा अवसर छुट्ने डरले गर्दा धेरैजसो लगानीकर्ताले हतारमा खरिद गर्ने निर्णय लिन्छन्, जुन दीर्घकालीन रूपमा घातक हुन सक्छ ।
हालै सार्वजनिक भएको मौद्रिक नीतिले पूँजी बजारमैत्री धारणा प्रस्तुत गरेपछि बजारमा नयाँ उत्साह थपिएको हो। कर्जामा लचिलोपन, तरलता व्यवस्थापनको सुधार र पूँजी बजारका माग सम्बोधन गर्ने विषयले बजारमा सुधारको संकेत दिएको हो। तर, बजार लगातार उकालो लागिरहँदा करेक्सनको अभावले कुनै बेला ठुलो गिरावट ल्याउने जोखिम कायम रहन्छ । त्यसैले लगानीकर्ताले अफवाहभन्दा टाढा रहेर बजारको अवस्था, कम्पनीको क्षमता र दीर्घकालीन रणनीति विचार गरी मात्र लगानी गर्ने उपयुक्त समय आएको विश्लेषकहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अकंले बढेर २९८३ बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन पाँच उपसूचकमा हरियाली आएको छ । आज विकास बैंकको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.९९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
बिहिबार १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ ।













