६ करोड ठगी प्रकरणः शेयर लगानीकर्ता अग्रवालको हिरासत थप चार दिन लम्बियो

काठमाडौँ । शेयर कारोबारको नाममा ठगी र विश्वासघातको आरोप लागेका दीपेन्द्र अग्रवालको हिरासत अवधि थप चार दिन लम्बिएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
गत सोमबार टोखाबाट पक्राउ परेका अग्रवालमाथि प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले पहिलोपटक तीन दिनको म्याद लिएको थियो। त्यसपछि बिहीबार फेरि अदालतमा पेश गर्दा एक दिनको मात्र म्याद थप भएको थियो। शुक्रबार पुनः अदालतमा पेस गरेपछि थप चार दिन हिरासतमा राख्न अनुमति दिइएको हो।
अग्रवाललाई करिब ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। धनुषाको जनकपुर उपमहानगरपालिका–१ का ६० वर्षीय दिनेशप्रसाद साहलाई सेयर दिने प्रलोभन देखाई रकम लिई न सेयर न रकम फिर्ता गरेको अभियोगमा अग्रवालविरुद्ध काठमाडौं प्रहरी परिसरमा मुद्दा दर्ता गरिएको थियो। साहले अग्रवालको खातामा सो रकम राखेको बताएका छन्।
यस प्रकरणमा अग्रवालसँगै संलग्न रहेका दुई अन्य व्यक्तिहरू भने अझै फरार छन्। प्रहरीले ती व्यक्तिहरूको पहिचान गोप्य राखेको छ।
अग्रवाल मोरङको विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बस्दै आएका हुन्।
उनले सस्तोमा सेयर किन्ने, त्यसपछि सामाजिक सञ्जालमार्फत अनावश्यक हल्ला फैलाएर मूल्य बढाउने, लगानीकर्तालाई खरिद गर्न प्रेरित गर्ने, अन्ततः आफूले राखेको सेयर उच्च मूल्यमा बेच्नेजस्ता कार्यहरू गर्दै आएको प्रहरीको आरोप छ।












