८ दिनपछि बजारमा करेक्सनः साढे २६ अर्बको कारोबार, फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए!

११ श्रावण २०८२, आईतवार १५:०७

काठमाडौँ । निरन्तर आठ दिनसम्म उकालो लागेको शेयर बजारमा आज करेक्सन देखिएको छ । बजार खुलेको केही समयमै नेप्से परिसूचक चार वर्षको उच्च बिन्दु छोए पनि अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार सुरु भएपछि केही मिनेटमै नेप्से सूचक ३००२.२० बिन्दुमा पुगेको थियो । यो अघिल्लो चार वर्षमा पहिलोपटक देखिएको उच्चतम बिन्दु हो । बजार खुलेको ६ मिनेटभित्रै परिसूचक २०.१६ अंकले उक्लिएको थियो । यसअघि साउन ३० गते नेप्से ३०००.८१ बिन्दुमा पुगेको थियो भने कारोबार रकम २९ अर्ब ९५ करोड रुपैयाँ नाघेको थियो ।

नेप्सेले २०७८ भदौ २ गते ३१९८ अंकको ऐतिहासिक बिन्दु छोएपछि लगातार ओरालो लाग्दै स्थिर अवस्थामा पुगेको थियो । त्यसपछि लामो समयसम्म सुस्त गतिमा रहेको बजारले अहिले पुनः उकालो यात्रा सुरु गरे पनि आज भने स्वाभाविक करेक्सनसहित घटेको हो ।

लगानीकर्ताहरूका अनुसार बजार दीर्घकालीन रूपमा सन्तुलित रहनका लागि यस्ता करेक्सन आवश्यक मानिन्छन् । चालु आर्थिक वर्षको सुरुवातसँगै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको छ भने विभिन्न सूचकहरू सकारात्मक देखिएपछि लगानीकर्ताको विश्वास पनि उच्च बनेको छ। यही कारण असार महिनाको अन्तिम सातादेखि बजारमा लगातार सुधारको लय देखिएको हो, जसमा आजको करेक्सनलाई पनि सकारात्मक सन्देशका रूपमा हेरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अकंले घटेर २९५८.८१ बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार ९ उपसूचक राताम्य भएको छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

यसदिन ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । बजार घट्दा समेत आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*