पुँजी बजारमा हरियालीः परिसूचक ३००१ बिन्दुमा, रेकर्ड राख्ने के छ आधार ?

१३ श्रावण २०८२, मंगलवार १५:०६

काठमाडौं । शेयर बजारमा सुधारको क्रम मंगलबार पनि जारी रहँदै दोहोरो अंकको वृद्धि भएको छ । सोमबार एकल अंकले मात्र वृद्धि हुँदै आएको बजार आज भने उत्साहजनक रूपमा उकालो लागेको हो । बजारमा देखिएको सुधारले लगानीकर्ताहरूको मनोबल उच्च बनाएको छ ।

चालु आर्थिक वर्षको सुरुवातसँगै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएको छ, जसले पूँजी बजारप्रति लगानीकर्ताको विश्वास बढाएको हो । यस्तै, विभिन्न आर्थिक सूचकहरू सकारात्मक देखिन थालेपछि बजारमा हरियाली फर्किएको छ । स्थिर आर्थिक संकेतकहरूले पनि शेयर बजारप्रतिको आकर्षणलाई थप बढाएको विश्लेषण गरिएको छ ।

बैंकिङ प्रणालीमा तरलता प्रशस्त हुनु, कर्जाको ब्याजदरमा आएको गिरावट र निक्षेपमा तुलनात्मक रूपमा कम प्रतिफलले पनि लगानीकर्ताहरूलाई शेयर बजारतर्फ तानिरहेको छ । अहिले अधिकांश बैंकहरूले ८ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छन्, जसले पूँजी बजारमा लगानी गर्दा अपेक्षाकृत बढी प्रतिफलको सम्भावना देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अकंले बढेर ३००१.८० बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.१४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.०९ प्रतिशत, जीवन बीमा समूहको ०.९८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*