बजारमा ठुलो करेक्सनः विकास बैंक र फाइनान्सका लगानीकर्ता डुबे, अब गिरावट कि बुल ?

१४ श्रावण २०८२, बुधबार १५:०७

काठमाडौँ । दुई दिनको निरन्तर वृद्धिपछि शेयर बजारमा आज ठुलो करेक्सन देखिएको छ । बजारमा लगानीकर्ताहरू नाफा बुक गर्ने मनस्थितिमा देखिएपछि बजार घट्न पुगेको हो ।

नेप्से सूचक अघिल्ला दुई दिन उल्लेखनीय रुपमा बढेको थियो । तर आज लगानीकर्ताहरू नाफा सुरक्षित गर्न अग्रसर भएका कारण बजारमा करेक्सन देखिएको हो । बजार विश्लेषकहरूका अनुसार यस्ता करेक्सनहरू बजारको स्वस्थ विकासका लागि अनिवार्य मानिन्छन् ।

विश्लेषकहरू भन्छन्– बुल ट्रेन्ड अर्थात बजारको सकारात्मक दिशा कायम गर्न समय–समयमा करेक्सन हुनु जरूरी हुन्छ । ‘बजार करेक्सन हुँदै अघि बढे मात्रै दिगो रूपमा नयाँ उचाइ हासिल गर्न सक्छ’ एक विश्लेषकले भने, ‘लगातार बढिरहेको बजार कहिले न कहिले सम्हालिन्छ र त्यो करेक्सनको माध्यमबाट नै सम्भव हुन्छ ।’

बजारमा देखिएको अहिलेको करेक्सनलाई विश्लेषकहरूले सामान्य र सकारात्मक प्रक्रिया मानेका छन् । उनीहरूका अनुसार यस्ता अवस्थाहरू दीर्घकालीन लगानीकर्ताका लागि अवसरका रूपमा पनि देखिन्छन् । करेक्सनपछि बजारमा नयाँ उचाइ मापन हुने विश्वास उनीहरूको छ ।

यसदिन बजार करेक्सन नभई निरन्तर बढी रहेको अवस्थामा भने साना तथा ज्ञान नभएका लगानीकर्ताका लागि जोखिम हुने गर्दछ । बजार करेक्सन हुँदै अघि बढे दिगो हुने लगानीकर्ताहरुको आंकलन छ ।

यसैबीच, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारमा आशावाद थपेको छ। लगानीकर्ताका दीर्घकालीन मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले धितो कर्जाको सीमा बढाउने, हकप्रद शेयरको प्रक्रिया सहज बनाउने, लघुवित्तको लाभांश वितरण नीति पुनरावलोकन गर्ने संकेतसहित तरलता व्यवस्थापनमा लचिलोपन देखाएको छ। यसले बजारमा दीर्घकालीन भरोसा बढाएको विश्लेषकहरूको भनाइ छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.८७ अकंले घटेरर २९४९ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन विकास बैंक र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज विकास बैंक समूहको ३.३४ प्रतिशत र फाइनान्स समूहको २.८७ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, अन्य ९ उपसूचक समेत राताम्य छन् ।

बुधबार २३ कम्पनीकको शेयर मूल्य मात्रै बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*