बजारमा लगातार दोस्रो दिन भारी गिरावटः खुम्चिदै परिसूचक, लगानीकर्ता गुमाए करोडौं लगानी

१५ श्रावण २०८२, बिहीबार १५:०७

काठमाडौँ । पुँजी बजारमा लगातार दोस्रो दिन पनि भारी गिरावट देखिएको छ । बुधबार ४७ अंकले घटेको नेप्से परिसूचक बिहीबार पनि सोही आसपासको अंकले घटेर करिब २९ सय बिन्दुमा झरेको छ । बजारमा गिरावट आउँदा केही लगानीकर्ताले शेयर बिक्री गरेर नाफा सुरक्षित गर्न थालेका छन् ।

लगातारको गिरावटलाई सामान्य करेक्सनको रूपमा लिँदै लगानीकर्ताले यसलाई बजार अगाडि बढ्ने अवसरका रूपमा समेत व्याख्या गरेका छन् । ३ हजार अंकसम्म पुगेको नेप्से परिसूचक हाल २९ सय आसपासमा झरेको छ । यस्तो अवस्थामा अल्पकालीन लाभ लिने लगानीकर्ताले नाफा बुक गरिरहेका छन् भने दीर्घकालीन लगानीकर्ताले स्थिरता खोजिरहेका छन्।

यसैबीच, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले बजारमा आशावाद थपेको छ। धितो कर्जाको सीमा बढाउने, हकप्रद शेयरको प्रक्रिया सहज बनाउने र लघुवित्त संस्थाको लाभांश वितरण नीतिमा सुधार ल्याउने संकेतसहित राष्ट्र बैंकले तरलता व्यवस्थापनमा लचिलो दृष्टिकोण अपनाएको छ। विश्लेषकहरूका अनुसार यसले शेयर बजारमा दीर्घकालीन विश्वास कायम गर्न सहयोग पु¥याउनेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.४० अकंले घटेर २९१५.७३ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन सर्वाधिक शेयर मूल्य घट्नेमा वाणिज्य बैंक समूहको १.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०७ प्रतिशत, हाइडोपावर समूहको १.३१ प्रतिशत, जीवन बीममा समूहको १.५५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.५८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहिबार ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*