दोहोरो अकंले बढ्यो बजारः खुम्चियो कारोबार, चलखेलमा फस्दै लगानीकर्ता!

काठमाडौँ । तीन दिनसम्म निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । भारी गिरावटपछि आजको कारोबार अन्त्यसम्म नेप्से सूचक दोहोरो अंकले उकालो लागेको हो । दिनभर बजारमा उतारचढाव जारी रहे पनि कारोबार अन्त्यतिर सकारात्मक परिवर्तन आएको देखिएको छ ।
तर, बजारमा देखिएको यो सुधार सच्चा लगानीकर्ताका लागि राहतको संकेत भन्दा पनि योजनाबद्ध रूपमा गरिएको चलखेलको परिणाम भएको आशंका बढ्दो छ । बजारमा सक्रिय माफिया समूहहरूले सामान्य लगानीकर्तालाई शेयर किन्न प्रोत्साहन गर्दै आफुहरू भने निस्कने (एक्जिट हुने) रणनीति अपनाइरहेको संकेत विश्लेषकहरूले दिएका छन् ।
सैद्धान्तिक रूपमा शेयर बजार दीर्घकालीन लगानीको माध्यम भए पनि नेपालमा भने यो सट्टेबाजीको केन्द्रमा रूपान्तरण हुँदै गएको छ । धेरैजसो लगानीकर्ताले कम्पनीको आधारभूत वित्तीय विवरण, लेखा परीक्षण प्रतिवेदन वा व्यवसायिक योजना नहेरी हल्लामै लगानी गरिरहेकाले घाटा व्यहोर्नुपरेको हो । यस्तो अवस्थामा मौद्रिक नीति खुकुलो हुँदा पनि उनीहरू पुनः भ्रममा परी माफियाको जालमा फस्ने क्रम दोहोरिरहेको छ ।
यो परिदृश्यले २०७८ भदौ २ गतेको अवस्था सम्झाउँछ, जुन बेला नेप्से ३१९८ अंक पुगेको थियो । त्यो समय पनि माफियाहरूले बजार ५००० बिन्दु पुग्ने प्रचार गर्दै साना लगानीकर्तालाई उत्साहित पारे र आफैं भने लाभ लिएर बाहिरिए । त्यसपछि बजार ओरालो लागेर १८०० अंकसम्म झ¥यो जसले हजारौं लगानीकर्तालाई कंगाल बनायो । कोही ऋणको भारीमा परे त कोही आत्महत्या गर्न बाध्य भए । अहिले पुनः त्यही प्रवृत्ति दोहोरिएको देखिन्छ । गम्भीर आर्थिक समीक्षा विना मौद्रिक नीतिको समर्थनमा बजार उचालेर साना लगानीकर्तालाई पासोमा पार्ने प्रवृत्ति खतरनाक बन्दै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६५ अकंले बढेर २८७५.५५ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन ६ उपसूचक भने राताम्य भएका छन् भने ७ सूचकमा भने सुधार आएको छ । आज वाणिज्य बैंकको शेयर सर्वाधिक १.६२ प्रतिशतले बढेको छ ।

आज १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ ।












