नाडेप लघुवित्त नाफामा, आम्दानी बढे पनि खराब कर्जा झनै उच्च

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी नाफामा गएको छ। अघिल्लो आवको असार अन्त्यसम्म कम्पनी ७ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेकोमा गत वर्ष यसलाई सुधारेर ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।
अघिल्लो वर्ष ३४ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १५.८८ प्रतिशतको वृद्धि गर्दै ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यसैगरी अघिल्लो वर्ष ३७ करोड २२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष २०.६० प्रतिशतको वृद्धि सहित ४४ करोड ८८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ।
यससँगै अघिल्लो वर्ष ८ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको कम्पनीले गत वर्ष ७ करोड ६३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको तथ्यांकले देखाएको छ। यसैगरी अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (ईपएस) १५.३२ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ११.०६ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.१९ रुपैयाँ रहेको छ।
यद्यपि कम्पनीको खराब कर्जा (एनपीएल) भने झनै चुलिंदै गएको छ। अघिल्लो वर्ष ९.९८ प्रतिशत रहेको एनपीएल गत वर्ष बढेर १४.१४ प्रतिशत पुगेको छ। ३ अर्ब ३ करोड रुपैयाँ बढी सापटी लिएर ५ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको यस कम्पनीले जम्मा १ अर्ब ९१ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गर्न सकेकाले खराब कर्जा चुलिएको हो।
चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ३५ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको वितरणयोग्य नाफा (लाभांश क्षमता) भने अझै पनि ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक नै रहेको छ।












