सूचना चुहाएर सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा चलखेल, सञ्चालक नै शंकाको घेरामा

काठमाडौँ । सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा ठूलो चलखेल भएको छ । कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो ।
कम्पनीले लाभांश र हकप्रद निष्कासन गर्ने प्रस्तावसम्बन्धी सूचना चुहाएर बजारमा इन्साइडर ट्रेडिङ परेको पाइएको हो । साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । बोनस शेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरिएको छ । साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ः१ अनुपात कायम गर्ने गरी हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको थियो । तर, यी निर्णय सार्वजनिक हुनुभन्दा पहिला नै कम्पनीका माथिल्लो तहका पदाधिकारीहरूले यी संवेदनशील सूचनाहरू चुहाएर शेयर बजारमा चलखेल गरेको पाइएको छ ।
सिक्लेस हाइड्रोपावरको शेयर मूल्य लामो समयदेखि ८०० देखि ९०० रुपैयाँ आसपास स्थिर रहेको थियो । तर, लाभांश र हकप्रद निष्कासन सम्बन्धी सूचना बजारमा चुहिएपछि केही दिनमा शेयर मूल्य अचानक बढेर प्रतिकित्ता १ हजार १५० रुपैयाँ भन्दा माथि पुगेको हो । त्यसका साथै, पछिल्ला दिनहरूमा कम्पनीको शेयर कारोबार सर्वाधिक हुने क्रम देखिएको थियो । कम्पनीका अध्यक्ष प्रेम कुमारी केसीको नेतृत्वमा सञ्चालक समितिका केही सदस्यहरूले सूचनाहरू चुहाएर शेयर मूल्यमा असामान्य वृद्धि गराएको कम्पनी स्रोतले पुष्टि गरेको छ ।
कम्पनीले घोषणा गर्ने लागेको लाभांश र हकप्रद सम्बन्धी प्रस्ताव सञ्चालक तहबाट नै बाहिरिदा शेयर मूल्यमा वृद्धि देखिएको कम्पनी स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘केहि समय यता कम्पनीमा गाइगुई हल्ला चलि रहेको थियो । १०० हकप्रद रे अनि लाभांश नि राम्रो छ रे भन्ने । सञ्चालक समितिका केहि ब्यक्तिहरुबाट नै यस्तो गतिविधि भइरहेको थियो । सोहि कारण पनि शेयर मूल्य एकाएक बढेको देखिएको छ ।’
तर, नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस विषयमा सक्रिय नभएको आरोप लगाइएको छ । धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ रोक्नुपर्ने भए पनि आवश्यक अनुसन्धान र निगरानीमा कमजोर देखिएको छ । यसले ठूला र प्रभावशाली लगानीकर्ताहरूलाई मात्र शेयर बजारमा अनियमितता गर्ने अवसर दिएको छ । लगानीकर्ता र बजार विश्लेषकहरूले भने नियामक निकायले यो घटनामा गम्भीर ध्यान दिनुपर्ने माग गरेका छन् ।
लामो समयदेखि सुस्त रहेको कम्पनीको निरन्तर शेयर मूल्य बढ्दा नियामक निकायले अनुसन्धान र अध्ययन गर्नुपर्ने लगानीकर्ताहरुको माग छ । एक लगानीकर्ताले भने, ‘लामो समय स्थिर रहेको शेयर मूल्य लाभांश र हकप्रद निष्कासन घोषणा हुन केहि समय अघि मात्रै किन ह्वात्तै बढ्यो । यो बारे बोर्ड र नेप्सेले हेर्नु पदैन । यसमा सुक्ष्म अध्ययन गरी दोषिलाई कारबाही गर्नु पर्छ । अनि मात्रै शेयर बजार पारदर्शि हुन्छ ।’
सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, १ः१ को अनुपातमा हकप्रद शेयर ल्याउने












