सात वाणिज्य बैंकहरुको चौथौ त्रैमासः कस्को लाभांश क्षमता कति ?

२६ श्रावण २०८२, सोमबार १९:०३

काठमाडौं । वाणिज्य बैंकहरूमध्ये सातवटा बैंकले आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्।

आजसम्म वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आँकडा अनुसार बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।

अहिलेसम्म माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन्।

जसका आधारमा हेर्दा सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको ३८।२७ प्रतिशत देखिएको छ। यसैगरी माछापुच्छ्रे बैंकको १५।७ प्रतिशत, सिद्धार्थ बैंकको १३।२२ प्रतिशत, कृषि विकास बैंकको १८।४२ प्रतिशत, सिटिजन्स बैंकको ५।२५ प्रतिशत र सानिमा बैंकको २०।४७ प्रतिशत देखिएको छ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँ नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ९२।४५ प्रतिशतले वृद्धि हो।

यस बैंकको ब्याज आम्दानी १५।४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड पुगेको छ भने प्रावधान रकम घटेर १ अर्ब ३९ करोडबाट ३५ करोड ३७ लाखमा सीमित भएको छ। प्रतिसेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको छ।

कुमारी बैंक

कुमारी बैंकको नाफा दुई अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४६ लाख रुपैयाँको तुलनामा करिब ४ सय गुणा हो।

यस बैंकको प्रावधान रकम ६ अर्बबाट २ अर्बमा झरेको र ब्याज आम्दानी ७ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ। तर वितरणयोग्य नाफा ऋणात्मक दुई अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकको कुल नाफा १०।२४ प्रतिशतले वृद्धि भइ ३ अर्ब ३९ करोड पुगेको छ। वितरणयोग्य नाफा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड पुगेको छ। ब्याज आम्दानी ६।४३ प्रतिशतले वृद्धि भइ ८ अर्ब ४४ करोड पुगेको छ। प्रतिसेयर आम्दानी २४ रुपैयाँ १ पैसा रहेको छ।

बैंकले डिबेन्चर रिडेम्सन रिजर्भका लागि १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि १३।२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ। अघिल्लो वर्ष सोही अवधिसम्म वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँमात्र थियो।

कृषि विकास बैंक

कृषि विकास बैंकले ४४ प्रतिशत नाफा वृद्धि गर्दै ४ अर्ब १५ करोड कमाएको छ। प्रावधान रकम दुई अर्ब १५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ।

यस बैंकको ब्याज आम्दानी भने ७ प्रतिशतले घटेर ९ अर्ब ८२ करोडमा पुगेको छ। प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०६ पैसा छ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेर १ अर्ब २९ करोडमा झरेको छ। प्रावधान रकम १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ।

यस बैंकको ब्याज आम्दानी करिब १२ प्रतिशतले बढेर ६ अर्ब ३६ करोड पुगेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको छ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आवमा झन्डै पाँच अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन ३२।८० प्रतिशतले वृद्धि हो। खुद ब्याज आम्दानी १९।३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड पुगेको छ।

यस बैंकको सञ्चालन नाफा पनि ३१।६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड पुगेको छ। बैंकले सेयरधनीलाई ३८।२७ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखाएको छ।

सानिमा बैंक

सानिमा बैंकले गत आवमा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन ७।२४ प्रतिशतले बढेको हो। ब्याज आम्दानी २।८१ प्रतिशतले वृद्धि भइ ६ अर्ब ३५ करोड पुगेको छ।

यस बैंकको वितरणयोग्य नाफा ९२।१३ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। खराब कर्जा १।२१ प्रतिशत कायम रहेको छ। प्रतिसेयर आम्दानी १८।९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८।८३ रुपैयाँ रहेको छ।

लाभांश क्षमता

एभरेष्ट बैंक ३८।२७ प्रतिशत

सानिमा बैंक २०।४७ प्रतिशत

कृषि विकास बैंक १८।४२ प्रतिशत

माछापुच्छ्रे बैंक १५।७ प्रतिशत

सिद्धार्थ बैंक १३।२२ प्रतिशत

सिटिजन्स बैंक ५।२५ प्रतिशत

कुमारी बैंक ऋणात्मक वितरणयोग्य मुनाफा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*