नबिल बैंकको वित्तीय सूचकमा ग्रोथः खुद नाफा १५ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा ग्रोथ देखिएको छ।
बैंकले अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको असार मसान्तसम्म १५ प्रतिशतको वृद्धि सहित ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यसैगरी अघिल्लो वर्ष १६ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष पनि १६ अर्ब ३१ करोड रुपैयाँ नै खुद ब्याज आम्दानी गरेको छ। यस अवधिमा कुल सञ्चालन आम्दानी भने २० अर्ब ३१ करोड रुपैयाँबाट ३.४२ प्रतिशतले बढेर २१ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तै अघिल्लो आवको अन्त्यसम्म बैंकले ८ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत आवको अन्त्यसम्म २५.४४ प्रतिशतको वृद्धि सहित १० अर्ब ८४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७७ करोड रुपैयाँ र रिजर्भमा ३१ अर्ब ९० करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
अघिल्लो वर्ष २२.९० रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्ष बढेर २६.३४ रुपैयाँ कायम भएको छ। यसै अवधिमा खराब कर्जा ४.४५ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ।












