वर्षदिनमा युनिक नेपाल लघुवित्तले कमायो ८.७४ करोड नाफा, अधिकांश सूचकमा बृद्धि

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार वर्षदिनमा संस्थाले नाफा लगायतका सूचांकहरुमा सामान्य सुधार गरेको छ ।
संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ८ करोड ७४ लाख रुपैयाँ घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.२१ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्ममा संस्थाले २२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।
समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी ५९.७२ प्रतिशतले बढेर २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन खर्च बढेको छ । सञ्चालन खर्च ११ करोड ९४ लाख रुपैयाँबाट बढेर १६ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
संस्थाको रिजर्भको आकार २५.७८ प्रतिशतले बढ्दै १९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ५ करोड ३९ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संलकन २ अर्ब ६६ करोड र कर्जा प्रवाह ३ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । संस्थाको खराब कर्जा अनुपात १२.२१ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात १७.४२ प्रतिशत कायम थियो । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ६ करोड ३६ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १६ करोड ८४ लाख रुपैयाँको व्यस्था गरेको थियो । यस्तै संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख र लाभांश क्षमता ४६.०२ प्रतिशत रहेको छ ।












