१० वाणिज्य बैंकको लोभलाग्दो ग्रोथः प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा कुनमा को अब्बल ?(तथ्यांकसहित)

काठमाडौँ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक विवरणका आधारमा अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको चपेटामा रहेका बैंकहरु पछिल्ला वर्षहरुमा क्रमशः सुधारको बाटोतर्फ उन्मुख भएका छन् । यसले गर्दा नाफामा मात्र नभई सम्पूर्ण वित्तीय स्वास्थ्यमा सकारात्मक परिवर्तन देखा पर्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले पनि पछिल्ला समयमा बैंक तथा वित्तीय संस्थामाथि लचिलो नीति अपनाउँदै आएको छ । मौद्रिक नीति मार्फत नाफा वृद्धि हुने खालका प्रावधान ल्याउँदै राष्ट्र बैंकले बैंकहरुलाई सहज वातावरण सिर्जना गरिदिएको छ । यससँगै बैंकहरुको लाभांश वितरण क्षमता समेत बलियो बन्दै गएको छ जसको असर पूँजी बजारमा समेत देखिन थालेको छ ।
हाल २० वटै वाणिज्य बैंकमध्ये १० बैंकले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तीमध्ये नबिल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, सानिमा बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिटिजन बैंक रहेका छन् । सार्वजनिक विवरण अनुसार तीमध्ये ९ बैंकको नाफामा वृद्धि भएको छ जसले बैंकिङ क्षेत्रमा विश्वास र लगानीकर्ताको मनोबल दुवैलाई उकासेको छ ।
खराब कर्जा घटाउँदै ऋण प्रवाहलाई सन्तुलित बनाउने रणनीतिले बैंकहरुको आगामी नाफा वृद्धि दरलाई थप टिकाउ बनाउन सक्ने देखिन्छ । यससँगै, लाभांशको सम्भावित आकर्षण र शेयर मूल्यमा भइरहेको क्रमिक सुधारले बैंकिङ क्षेत्र पूँजी बजारको प्रमुख चलायमान शक्ति बन्ने अपेक्षा गरिएको छ ।
नाफामा टप वान स्थान छोडेन नबिलले, कृषि–सिद्धार्थ–एनएमबिको कडा प्रतिस्पर्धा
वाणिज्य बैंक मध्य नाफामा नबिल बैंकले अग्रस्थान रहँदै आइरहेको छ । १० बैंक मध्य बैंकको नाफा सर्वाधिक रहेको छ । गत वर्ष कम्पनीको नाफा १५.०१ प्रतिशतले बढेर ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।
नाफामा दोस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ । गत वर्ष बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८१ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड, सिद्धार्थ बैंकको १०.२४ प्रतिशतले बढेर ३ अर्ब २८ करोड र एनएमबि बैंकको ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यी तीन बैंकको नाफामा कडा प्रतिस्पर्धा देखिएको छ ।
सानिमा बैंकको नाफा २ अर्ब ३९ करोडबाट बढेर २ अर्ब ५७ करोड पुगेको छ । यता, विगत केही समय यता सुस्त रहेको कुमारी बैंकको नाफामा भने ४५ हजार ८२९ प्रतिशतको उछाल देखिएको छ । यस अवधिमा कुमारी बैंकको नाफा ४६ लाख ८ हजार रुपैयाँबाट बढेर २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ पुगेको हो ।

यता, माछापुच्छ्रे बैंकको नाफा ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड र हिमालय बैंकको २२.१५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । सिटिजन बैंकको नाफा भने २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रहेको छ ।
सर्वाधिक ब्याज आम्दानी समेत नबिल कै राज, अन्यको अवस्था कस्तो ?
हालसम्म सार्वजनिक वित्तीय विवरण अनुसार नाफामा अग्र स्थानमा रहेको नबिल खुद ब्याज आम्दानी समेत अगाडी नै रहेको छ । १० बैंक मध्य बैंकको खुद ब्याज आम्दानी सर्वाधिक १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
दोस्रो स्थानमा रहेको कुमारी बैंकको ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटे पनि सर्वाधिकको तेस्रो नम्बरमा रहेको छ । हिमालयन बैंकको खुद ब्याज आम्दानी १० अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी क्रमशः कृषि विकास बैंकको ६.९३ प्रतिशतले घटेर ९ अर्ब ८२ करोड, एभरेष्ट बैंकको १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड, सिद्धार्थ बैंकको ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड, एनएमबि बैंकको ११.१४ प्रतिशतले बढेर ८ अर्ब २ करोड, सिटिजन बैंकको ११.२० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

यता, सानिमा बैंकको खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड र माछापुच्छ्रे बैंकको १५.४१ प्रतिशतले बढेर ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
प्रतिशेयर आम्दानी एभरेष्टको सर्वाधिक, कृषिलाई पछ्याउँदै नबिल
गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका १० बैंक मध्य एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी सर्वाधिक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा रहेको छ।
यस्तै, कृषि विकास बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने नबिल बैंकको २२ रुपैयाँ ९० पैसाबाट बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ ।
समीक्षा अवधिमा सिद्धार्थ बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर २४ रुपैयाँ १० पैसा, सानिमा बैंकको १ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ९३ पैसा, एनएमबि बैंकको ५ रुपैयाँ ६५ पैसाले बढेर १७ रुपैयाँ ८७ पसा, माछापुच्छ्रे बैंकको ८ रुपैयाँ ३२ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ।

यता, सिटिजन बैंकको भने १८ पैसाले घटेर ८ रुपैयाँ ७६ पैसा प्रतिशेयर आम्दानी रहेको छ भने कुमारी बैंकको ८ रुपैयाँ ०५ पैसाले बढेर ८ रुपैयाँ ०७ पैसा र हिमालयन बैंकको १ रुपैयाँ २६ पैसाले बढेर ६ रुपैयाँ ९८ पैसा पुगेको छ।
एभरेष्टलाई छैन खराब कर्जाको चिन्ता, अन्य बैंकको अवस्था कस्तो छ ?
एभरेष्ट बैंकको खराब कर्जा निकै कम रहेको छ । अधिकांश बैंकहरु खराब कर्जाको चपेटामा हुँदा एभरेष्ट बैंकको भने ०.३८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खराब कर्जा बैंकले अझै ०.३३ प्रतिशतले घटाएको छ ।
त्यस्तै, सिद्धार्थ बैंकको खराब कर्जा ०.४५ प्रतिशतले बढेर २.६२ प्रतिशत, सानिमा बैंकको १.२९ प्रतिशतले बढेर ३.०१ प्रतिशत, कृषि विकास बैंकको ०.६५ प्रतिशतले घटेर ३.२६ प्रतिशत, एनएमबि बैंकको ०.३२ प्रतिशतले बढेर ३.७२ प्रतिशत र माछापुच्छ्रे बैंकको ०.०३ प्रतिशतले घटेर ३.८३ प्रतिशत रहेको छ ।
यता, नाफामा नम्बर वानमा रहेको नबिल बैकको खराब कर्जा ०.१८ प्रतिशतले घटेर ४.२७ प्रतिशत पुगेको छ । सिटिजन बैंकको ४.९४ प्रतिशत खराब कर्जा रहेको छ भने कुमारी बैंकको ६.४२ प्रतिशत रहेको छ।

नाफामा कमजोर रहेको हिमालयन बैंकको खराब कर्जा सर्वाधिक उच्च रहेको छ । बैंकको खराब कर्जा २.३० प्रतिशतले बढेर ७.२८ प्रतिशत पुगेको छ ।












