प्रभु बैंकको मुनाफामा उछाल हुँदा वितरणयोग्य नाफा धनात्मक, अन्य सूचक कस्ता ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को असार अन्त्यसम्म ९६५.४१ प्रतिशतको वृद्धि सहित ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
जबकि यस बैंकले अघिल्लो आवको असार अन्त्यसम्म ५१ करोड ८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यसरी गत आवमा बैंकको खुद नाफा ह्वात्तै बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
यद्यपि अघिल्लो वर्ष ११ अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष ३९.४७ प्रतिशतको गिरावट सहित ७ अर्ब १९ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ।
त्यसैगरी अघिल्लो वर्ष १४ अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको बैंकले गत वर्ष २७.२८ प्रतिशतको गिरावट सहित कुल आम्दानी १० अर्ब ५७ करोड रुपैयाँमा झरेको छ।
आम्दानीमा गिरावटको बाबजूद बैंकको सञ्चालन नाफा भने ३ अर्ब १५ करोड रुपैयाँबाट करीब दोब्बर वृद्धि भएर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा पाइएको छ।
यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष २.१७ रुपैयाँ रहेकोमा गत वर्ष बढेर २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ। यता खराब कर्जा ४.९६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ।
चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १३ अर्ब ५५ करोड रुपैयाँ रहको छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ३ अर्ब २ करोड ऋणात्मक रहेकोमा गत वर्ष १ अर्ब ४ करोड रुपैयाँ धनात्मक भएको छ। बैंकले २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ ग्राहकलाई कर्जा प्रवाह गरेर त्यसबाट ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।












