लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमकः मुनाफा ४ अर्बमाथि, अधिकांश सूचकमा ग्रोथ

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
गत आर्थिक वर्षको बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को सोही अवधिको तुलनामा ४०.९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७६ करोड ६३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेर १४ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमाा भने उक्त आम्दानी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
अघिल्लो आवमा ४ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको हो ।
यसअवधिमा बैंकको चुक्तापूँजी २४ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित, निक्षेप संकलन ३ खर्ब ६७ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब ७५ अर्ब रुपैयाँ गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ भने वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ । साथै, बैंकको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ ।












