तीन दर्जनबढी लघुवित्तको खुद नाफा, ब्याज आम्दानी, ईपीएस र खराब कर्जा दाँजेर हेर्दा, लगानी गर्न कुन उपयुक्त ?

२९ श्रावण २०८२, बिहीबार १५:५१

काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै गएका छन् ।

हाल सञ्चालनमा रहेका ३९ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम त्रैमासिक वित्तीय विवरणहरु सार्वजनिक गरीसेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु रहेका छन्, जसमा ३९ वटाले मात्र हालसम्म गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

प्रकाशित वित्तीय विवरणका अनुसार अधिकांश कम्पनीहरुको खराब कर्जामा सुधार भएसँगै नाफामा बढोत्तरी भएको छ । साथै कम्पनीहरुको खुद ब्याज आम्दानी पनि बृद्धि हुदै गएको छ । नियमन निकाय नेपाल राष्ट्र बैंक र सरकारको साथ सहयोगका साथै स्वयमः कम्पनीहरुको सक्रियतामा खराव कर्जा घट्दै गएको हो ।

समीक्षा अवधिमा खुद नाफामा नेशनल लघुवित्त, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा स्वाभिमान लघुवित्त अगाडी रहेको छ । त्यस्तै, गत आवमा सपोर्ट लघुवित्त र आरम्भ चौतारी लघुवित्तको खराब कर्जा सबैभन्दा कम रहको छ । । अधिकांश कम्पनीहरु वित्तीय सूचकको आधारमा बलिया बन्दै गएका छन् ।

खुद नाफाः

गत आर्थिक वर्षमा वित्तीय विवरण सार्वजनिक गरेका ३९ वटा लघुवित्त संस्थाहरुले कुल चार अर्ब ४० करोड २८ लख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवको सोही अवधिको तुलनामा लघुवित्तहरुको मुनाफा ११४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिमा लघुवित्तहरुले दुई अर्ब पाँच करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा नेशनल लघुवित्तको मुनाफा वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुसँग दाजेर हेर्दा सबैभन्दा बढी रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाको मुनाफा १३६.३३ प्रतिशतले बृद्धि भएको छ ।

साथै, स्वाभिमान लघुवित्तले ४४ करोड २६ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तले ३१ करोड ४४ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले २५ करोड ४० लाख रुपैयाँ, स्वरोजगार लघुवित्तले २३ करोड ९७ लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तले २३ करोड ५८ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स लघुवित्तले २१ करोड ६० लाख रुपैयाँ, आशा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आरम्भ चौतारी लघुवित्तको मुनाफा १३ हजार प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार गरिएको

 

खुद ब्याज आम्दानीः

लघुवित्तहरुको मेरुदण्डको रुपमा रहेको ब्याज आम्दानी पनि बृद्धि भएको छ । गत वर्षमा ३९ वटा लघुवित्तहरुले कुल १७ अर्ब ७२ करोड २४ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएका छन् । अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी ३५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तहरुको यस्तो आम्दानी १३ अर्ब नौ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

ब्याज आम्दानीमा चाँही स्वाभिमान लघुवित्त अग्रस्थानमा रहेको छ । गत वर्षमो यस लघुवित्तले एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँको ब्याज आम्दानी गरेको छ । साथै, नेशनल लघुवित्तले एक अर्ब ६१ करोड ५५ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्तले एक अर्ब ४३ करोड ४७ लाख रुपैयाँ, ग्रामिण विकास लघुवित्तले एक अर्ब १६ करोड रुपैयाँ, मेरो माइफोफाइनान्स लघुवित्तले एक अर्ब पाँच करोड तीन लाख रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तले ७५ करोड ९७ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार गरिएको

प्रतिशेयर आम्दानीः

प्रतिशेयर आम्दानीको आधारमा स्वाभिमान लघुवित्त अग्रस्थानमा रहेको छ । वित्तीय विवरण प्रकाशित गरेका २७ लघुवित्तलाई पछि पार्दै यस लघुवित्तको प्रति शेयर आम्दानी ४७ रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, सिवाईसी लघुवित्तको ४४ रुपैयाँ नौ पैसा, सपोर्ट लघुवित्तको ४१ रुपैयाँ ८१ लाख रुपैयाँ, श्रीजनशील लघुवित्तको ४१ रुपैयाँ २५ पैसा र ग्लोबल आइएमई लघुवित्तको ३८ रुपैयाँ ११ पैसा रहेको छ ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार गरिएको

खराब कर्जाः
पछिल्लो समय लघुवित्तहरुलाई वित्तीय संकटमा पार्दै आएको खराब कर्जामा पनि कमी आएको छ । गत आवको विवरण अनुसार सपोर्ट लघुवित्तको खराब कर्जा सबैभन्दा कम रहेको छ । यस लघुवित्तको १ दशमलव ५८ प्रतिशतमात्र रहेको छ । त्यस्तै, आम्भ चौतारी लघुवित्तको २.१३ प्रतिशत, गुराँस लघुवित्तको २.९१ प्रतिशत, आरएसडिसी लघुवित्तको ३.३४ प्रतिशत खराब कर्जा रहेको छ ।

सबैभन्दा बढी नाडेप लघुवित्त, आत्मनिर्भर लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त लगायतको खराब कर्जा उत्कृर्षमा पुगेको छ।

स्रोतः कम्पनीहरुले प्रकाशित गरेको गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*