निर्जीवन बीमा कम्पनीले वर्षदिनमा कमाए ४ अर्ब मुनाफा, अग्रस्थानमा सिद्धार्थ प्रिमियर र नेको, प्रभु– सानिमा जिआईसीको उच्च ग्रोथ

काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २८.९२ प्रतिशतले घटेको छ ।
कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब १६ करोड तीन लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले पाँच अर्ब ८५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र नेको इन्स्योरेन्स अग्रस्थानमा रहेका छन् । साथै, अघिल्लो वर्षको तुलनामा गत आवमा प्रभु इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको छ । सञ्चालित निर्जीवन बीमा कम्पनीहरुमध्ये सात वटा कम्पनीको मुनाफा मात्र बृद्धि भएको छ । साथै छ कम्पनीको मुनाफा घटेको छ भने नेशनल इन्स्योरेन्सको मुनाफा ऋणात्मक रहेको छ ।
समीक्षा अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा तीन दशमलव ६३ प्रतिशतले बृद्धि भएर ७१ करोड ३१ लाख रुपैयाँ रहेको छ । साथै, नेको इन्स्योरेन्स मुनाफा आर्जनका आधारमा दोस्रो स्थानमा रहेको छ । कम्पनीले गत वर्ष ५५ करोड आठ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

स्रोतः कम्पनीले प्रकाशित वित्तीय विवरण, बृद्धिदरको आधारमा तयार पारिएको
समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५३ करोड २३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ, सरकारी कम्पनी राष्ट्रिय बीमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४० करोड ३२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएका छन् ।
साथै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ४९ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ३५ करोड तीन लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २१ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्सले २१ करोड १९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १६ करोड ११ लाख रुपैयाँ र द ओरियन्टल इन्स्योरेन्सले आठ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । साथै, नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय बन्दै गएको छ । गत आवमा कम्पनीको मुनाफा ६२ करोड ३९ लाख ऋणात्मक रहेको छ ।













