नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश

१ भाद्र २०८२, आईतवार १०:४८

काठमाडौँ ।  काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो ।

कार नेपाल ल्याउने प्रक्रियामा भने अनौठो परिस्थिति सिर्जना भएको छ। तातोपानी नाकातर्फको बाटो बाढीपहिरोले अवरुद्ध भएपछि उक्त कारलाई स्थानीय भरियामार्फत बोकेर भित्र्याइएको हो। सडक अवरोधका कारण कोदारी खण्ड १५ दिनदेखि बन्द हुँदा कारलाई मानिसकै काँधमा बोकेर ल्याउनु परेको वितरक एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ। सो दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिँदै चर्चाको विषय बनेको छ।

दुई सिट क्षमताको यो फ्लाइङ कार पूर्णरूपमा विद्युतीय छ। इलेक्ट्रिकल भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (ईभीटीओएल) प्रविधिमा निर्मित यसमा आठवटा प्रोपेलर र आठवटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। सुरक्षाका लागि मल्टी–प्यारासुट प्रणालीसमेत समावेश गरिएको यसलाई एक पटकको चार्जमा ३० किलोमिटरसम्म उडाउन सकिन्छ भने अधिकतम गति घण्टामा १३० किलोमिटर पुग्नेछ।

चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा बनेको यो मोडल दक्षिण एसियाकै अटो प्रदर्शनीमा पहिलो पटक नेपालमार्फत सार्वजनिक हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*