चाँदी आयातमा सटही सीमा बढ्योः ५ लाख डलरसम्मको सुविधा, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट चाँदी आयात गर्न सटही सुविधाको सीमा बढाएको छ । अब सुनचाँदी व्यवसाय गर्ने उद्योगले आफ्नै प्रयोजनका लागि औद्योगिक कच्चा पदार्थको रुपमा चाँदी आयात गर्दा प्रतिपटक पाँच लाख अमेरिकी डलरसम्म वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा लिन सक्नेछन् ।
आइतबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायलाई परिपत्र जारी गर्दै यसअघि तीन लाख डलर तोकिएको सीमा बढाएर पाँच लाख डलर पुर्याएको हो ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा भने प्रतिपटक एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म मात्र सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
यस्तै, चाँदीका गरगहना तथा कलात्मक वस्तु निर्यात गर्ने व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतीतपत्र वा विदेशबाट प्राप्त खरिद आदेशका आधारमा आवश्यक परेमा सटही सुविधा लिन सकिने व्यवस्था गरिएको छ । यस खण्डमा तोकिएको आयात भुक्तानीको सीमा भने लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
साथै, प्रत्येक पटक सटही सुविधा दिँदा सम्बन्धित वाणिज्य बैंकले अघिल्लो सटही सुविधाअन्तर्गत आयात भएको चाँदी तोकिएबमोजिम निर्यात भएको वा नभएको यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य बैंकमार्फत सटही सुविधा लिएर निर्यात भुक्तानीमा बक्यौता नरहेको स्वघोषणा व्यवसायीसँग लिनुपर्ने प्रावधान पनि राष्ट्र बैंकले गरेको छ ।
3_2082.05.01_FEMD-Circular_Silver











