बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्कियो, २ जनाको मृत्यु ३ घाइते

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ स्पेसलचोक नजिक आइतबार राति मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल राति करिब १ः४५ बजे दुर्घटनामा परेका थिए।
दुर्घटनामा सिरहा जन्दहका २९ वर्षीय भोला थापा र करिब ३५ वर्षका एक पुरुषको मृत्यु भएको छ। दुबैलाई शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले राति २ः१५ बजे मृत घोषणा गरेका थिए। मृतकमध्ये एकजनाको सनाखत हुन बाँकी छ।
सोही घटनामा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ–८ भंगाल बस्ने २४ वर्षीय एरिक परियारसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको पहिचान खुलेको छैन भने उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।











