अटो लोनको प्रतिस्पर्धामा उत्रिए बैंकहरु, कुनको ब्याजदर कति ?

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शो–२०२४ लाई लक्षित गर्दै वाणिज्य बैंकहरूबीच अटो कर्जाको आकर्षक प्रस्ताव ल्याउने प्रतिस्पर्धा सुरु भएको छ । ग्राहकलाई लोभ्याउन सात वटा प्रमुख बैंकले विभिन्न अवधिका लागि स्थिर र चलायमान ब्याजदरमा ऋण योजना सार्वजनिक गरेका छन् ।
कर्जा अभियानमा नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, हिमालयन, सानिमा, एनएमबि र कृषि विकास बैंक सहभागी भएका छन् । प्रस्तुत स्किममध्ये सबैभन्दा सस्तो योजना कृषि विकास बैंकले ल्याएको छ । हाल ५.८७ प्रतिशत रहेको बैंकको आधारदरमा ०.३६ प्रतिशत प्रिमियम थपेर अटो कर्जा दिने व्यवस्था गरिएको छ । यसमा ०.७५ प्रतिशत प्रोसेसिङ शुल्क लाग्ने उल्लेख गरिएको छ ।
नबिल बैंकले ७ वर्षसम्मको ऋण ६.७४ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने छ । यसमा ०.५० प्रतिशत सेवा शुल्क लागू हुने छ भने ७ वर्षको स्थिर ब्याजदर रोजेमा ८.२५ प्रतिशत तोकिएको छ । स्थिर दरमा कर्जा लिँदा ०.२५ प्रतिशत मात्रै शुल्क लाग्ने नबिलले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले भने ७ वर्ष अवधिको अटो कर्जा ७.९९ प्रतिशत स्थिर ब्याजदरमा दिने प्रस्ताव सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले दुई विकल्प उपलब्ध गराएको छ । यसमा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाउन सकिने र ५ वर्ष अवधिको स्थिर दर रोजेमा ८.२५ प्रतिशत व्याज तिर्नुपर्ने व्यवस्था छ ।
हिमालयन बैंकले ८ वर्षसम्मका लागि ७.५७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जनाएको छ, जसमा आधारदरमा ०.८७ प्रतिशत प्रिमियम थपिएको छ ।
सानिमा बैंकले ५ वर्षको अटो कर्जामा ७.९९ प्रतिशत स्थिर ब्याजदर लागू गर्ने जनाएको छ भने ७ वर्ष अवधिको कर्जामा ८.१५ प्रतिशत ब्याजदर लिनेछ । यसमा ०.५० प्रतिशत प्रोसेसिङ शुल्क लाग्नेछ ।
एनएमबि बैंकले भने नाडा अटो शो अवधिभर विद्युतीय गाडीका लागि ७.१३ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेको छ ।
यसरी अटो शोको अवसरमा विभिन्न बैंकहरूले ल्याएका यी योजनाले नयाँ सवारी साधन किन्ने इच्छुक ग्राहकलाई सहज मात्र होइन सस्तो ब्याजदरमा वित्तीय सुविधा उपलब्ध गराउने अवसर समेत दिने विश्वास लिइएको छ ।












