सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ

५ भाद्र २०८२, बिहीबार १७:१९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्।

कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट यो अभियान देशभरीका २५ आयुर्वेद अस्पतालबाट पनि सुरु भएको छ।

आयुर्वेद चिकित्सा विज्ञानका अनुसार स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर बनाइएको थोपा नै स्वर्णविन्दु प्राशन हो। यो थोपा जन्मिएको ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई मात्रै खुवाउने प्रावधान छ। अभियानको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय राजधानीमा उपचारका विभिन्न विकल्प भएकाले उपत्यका बाहिरबाट अभियानको शुभारम्भ गरिएको बताए।

‘संघीय राजधानीमा उपचारका धेरै विकल्पहरू हुन्छन्। यसलाई उपत्यका बाहिरबाट शुभारम्भ गर्नुपर्छ भन्ने सोच भयो। यसको म्यासेज पनि राम्रो जान्छ’ मन्त्री पौडेलले भने। उनले आयुर्वेद चिकित्सा प्रणालीमा अझै पनि विश्वास बढ्न नसकेको बताए। ‘आयुर्वेद चिकित्सा प्रणालीलाई सरकारले प्राथमिकता दिएको छ। यस प्रणालीमा अझै जनविश्वास बढ्न सकेका छैन। तर हाम्रा पुर्खाहरूले अपनाएको यो वैकल्पिक र सस्तो उपचार पद्धति हो। अब हामीले यसमा जोड दिनुपर्छ।’

आयुर्वेदले स्वर्णविन्दु प्राशन गराएका बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता महत्वपूर्ण भूमिका रहने दाबी गर्छ। विश्व एलोपेथिक औषधिका पछाडि कुदिरहेको अवस्थामा नेपालमा भने आयुर्वेदलाई प्राथमिकतामा राख्न खोजिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*