अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुग्यो

काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ। गृह मन्त्रालयका अनुसार भूकम्पमा १ हजार ३०० भन्दा बढी घाइते भएका छन्।
आइतबार राति ११ः४७ बजे नान्गारहार र कुनार प्रान्त केन्द्रबिन्दु भएको भूकम्प ८ किलोमिटरको गहिराइमा गएको थियो। त्यसपछि कम्तीमा तीन पटक परकम्पन महसुस गरिएको छ, जसको तीव्रता ४.५ देखि ५.२ सम्म थियो।
समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पको धक्का राजधानी काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो।
सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको बताइएको छ। करिब ९० प्रतिशत भूभाग पहाडी रहेको यो प्रान्तमा सडकहरु साँघुरा छन् भने धेरै सडक पहिरोका कारण बन्द भएका छन्।
तालिबान अधिकारीहरुले प्रभावित क्षेत्रहरुमा राहत तथा उद्धार कार्यमा ठूलो चुनौती रहेको जनाएका छन्। सीमित स्रोतसाधनका कारण हेलिकप्टर र अन्य आवश्यक साधन उपलब्ध गराउन अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहयोग मागिएको उनीहरुले बताएका छन्।













