‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि बढाउँदै सरकार, विशिष्ट कलाकारलाई वार्षिक डेढ लाखको बीमा सुरक्षा

काठमाडौं । सरकारले नेपाली चलचित्र क्षेत्रको दिगो विकास र चलचित्रकर्मीहरुको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । नेपाली कलाकर्मी, स्रस्टा, सर्जकहरुको नियामक निकाय चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले ‘चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम, २०८२’ अघि सारेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गरिनु निकै महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले भने, ‘सरकार र चलचित्र विकास बोर्ड सधै कलाकार र चलचित्र क्षेत्रको हितमा काम गरिरहेको छ । स्वास्थ्य बीमा सेवाले चलचित्रकर्मीहरुलाई आर्थिक राहतका साथै स्वास्थ्य उपचारमा पनि निकै सहयोग दिने छ।’
चलचित्र विकास बोर्डले आयोजना गरेको ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोह’लाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेका छन् । उनले भने, ‘सरकारले नेपाली सूचना प्रविधिका साथ–साथै कलाकारिता क्षेक्रलाई समेत आर्थिक रुपले सुरक्षित बनाएर अघि बढाइरहेको छ ।’
मन्त्री गुरुङले भने, ‘कलाकारिता क्षेत्रमा लागेर जीवन बिताइरहेका स्रस्टाहरुको पनि आफ्नै दुःख, पीडा रहेको छ । जीवन भरी कलाकारिता गरी देशभरीका नागरिकहरुलाई मनोरञ्जन गराउने कलाकारहरुको हितको लागी सरकारले चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको छ।’

चलचित्रकर्ममा समर्पित रही चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि अहोरात्र खटिने चलचित्रकर्मीको औषधोपचार खर्चको सुनिश्चितताको लागि चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो ।
बीमा कार्यक्रम अन्तर्गत विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले अब वार्षिक एक लाख पचास हजार रुपैयाँ र चलचित्रकर्मी श्रेणीको परिचयपत्र प्राप्त चलचित्रकर्मीले वार्षिक पचहत्तर हजार रुपैयाँ बराबरको औषधी उपचार र बीमा सुविधा पाउनेछन् ।
यो बीमा कार्यक्रमले चलचित्रकर्मीको सामाजिक सुरक्षामा नयाँ आयाम थप्ने विकास बोर्डको धारणा छ । सरकार र स्वास्थ्य बीमा बोर्डको आपसी सहकार्य र समझदारीले अब नेपाली कलाकारहरुले पनि स्वास्थ्य बीमा सेवा पाउने निश्चित भएको छ ।











