नाडाको विशेष साधारणसभा अनिश्चित : गोल्छा–चौधरी विवाद अझै टुंगोमा नपुग्दा प्रक्रिया रोकियो

काठमाडौं । आगामी भदौ २४ गते हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को विशेष साधारणसभा अनिश्चित बनेको छ । संस्थाभित्रको पुरानो विवाद नमिल्नै अघि महासंघमा रूपान्तरणको घोषणा गर्दै साधारणसभा बोलाइएपछि सो विषयमा आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको हो ।
नाडाले हालै सम्पन्न गरेको ‘नाडा अटो शो–२०२५’ को समापन समारोहकै दिन केन्द्रीय कार्यसमितिको २१औं बैठकमार्फत संस्था अब महासंघका रूपमा अगाडि बढ्ने घोषणा गरेको थियो । त्यसै निर्णयअनुसार भदौ २४ गते विशेष साधारणसभा गर्ने तयारी गरिए पनि उजुरीपछि जिल्ला प्रशासनले तत्कालका लागि त्यससम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको छ ।
प्रशासनले पठाएको पत्रमा विधानअनुसार वार्षिक साधारणसभा नभई किन विशेष साधारणसभा बोलाउन लागिएको हो भन्ने स्पष्ट कारण माग गरिएको छ । साथै विगतमा पटक–पटक उठाइएको विधान संशोधनसम्बन्धी विवाद अझै समाधान नहुँदै साधारणसभा गर्न लागिएको विषयमा स्पष्टीकरण दिन सात दिनको समय तोकिएको छ ।
नाडाभित्र लामो समयदेखि गोल्छा समूह र चौधरी समूहबीचको मतभेद खुलेरै देखिँदै आएको छ । यही कारण अटो क्षेत्र नै दुई भागमा विभाजित हुँदै नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) समेत गठन भएको थियो । विधान संशोधन र पदव्यवस्था सम्बन्धी निर्णयलाई लिएर दुवै समूहबीच निरन्तर आरोप–प्रत्यारोप हुँदै आएको छ ।
चौधरी पक्षले संशोधित विधान स्वीकृतिका लागि प्रशासनमा पठाएको दाबी गर्दै आएको छ भने गोल्छा समूहले विधान प्रक्रिया पूरा नभएकाले आफूलाई अन्यायपूर्वक सदस्यमा घटाइएको आरोप लगाउँदै आएको छ । प्रशासनले पनि अघिल्लो पटक विधान संशोधनप्रति प्रश्न उठाएको थियो, जसका कारण विवाद झन् गहिरिएको हो ।














