पुतलीसडकमा माइक्रो बसको ठक्कर, दुई बालबालिका घाइते
१८ भाद्र २०८२, बुधबार १२:४२

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट दुई जना बालबालिका घाइते भएका छन्। पद्मोदय मोडबाट कमलादीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रो बसले सडक पार गर्दै गरेका बालबालिकालाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी बीमापोष्टलाई जानकारी दिए।
दुर्घटनामा ९ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१ घर भएकी ५ वर्षीय आशिका राई घाइते भएका हुन्। गिरीले भने, ‘विवेक तामाङको अवस्था गम्भीर छ । काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ। आशिका राईको काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था पनि गम्भीर नै देखिएको छ तर विवकको भन्दा अलि कम छ ।’
दुर्घटनामा संलग्न माइक्रो बस चालक २९ वर्षीय रामहरि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।













