फेसबुक बन्द गर्ने निर्णय गरेर आफै फोटो शेयर गर्दै प्रधानमन्त्री ओलि

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्दै मन्त्रालयले २५ वटा समाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले यसबारे दुरसञ्चार प्राधिकरणलाई पत्राचार समेत गरिसकेको छ । मन्त्रालयले २५ वटा समाजिक सञ्जाल बन्द गर्ने निर्णय आज भदौ १९ गते दिउँसो २ बजे गरेको हो ।
तर, निर्णय भएको दुई घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले फेसबुकमार्फत सामग्री सार्वजनिक गरेको छ । साँझ ४ः०७ बजे प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा ‘नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक (च्यासल) २०८२ भदौ १९’ लेखिएको सामग्री पोस्ट गरिएको हो ।
फेसबुक प्रयोग नगर्न सरकार आफैँले घोषणा गरे पनि प्रधानमन्त्रीकै आधिकारिक पेजमा यस्तै गतिविधि देखिनुले यसको प्रयोग कति व्यापक र प्रभावकारी बनेको छ भन्ने प्रष्ट हुन्छ । प्रधानमन्त्री ओलीको पेजमा दैनिक दुईदेखि तीनवटा सामग्री प्रकाशित हुने गरेको छ भने उनका गतिविधि र विचार फेसबुकमै नियमित रूपमा प्रस्तुत हुँदै आएका छन् ।
यसरी सरकारले बन्द गर्ने घोषणा गरेको प्लेटफर्ममै प्रधानमन्त्री आफैं सक्रिय रहनु फेसबुक नेपालको जनजीवनमा कति गहिरोसँग जोडिएको छ भन्ने उदाहरण बनेको छ ।













