जेन-जी आन्दोलनमा ६५ बैंक शाखा र ४५ एटीएममा तोडफोड तथा आगजनी

काठमाडौं । जेन-जी आन्दोलनले मुलुकभरका बैंक तथा वित्तीय संस्थामाथि ठूलो भौतिक क्षति पुर्याएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकका ६५ शाखा र एक्सटेन्सन काउन्टरमा आगजनी तथा तोडफोड भएको छ।
संघका अनुसार क्षतिग्रस्त ६५ मध्ये ४० वटा सरकारी कार्यालयमा सञ्चालित एक्सटेन्सन काउन्टर र बाँकी २५ वटा नियमित शाखा कार्यालय रहेका छन्। आन्दोलनकारीहरूले शाखा मात्रै नभई एटीएम बूथलाई समेत लक्षित गरेका छन्।
विशेषगरी भाटभटेनी सुपरमार्केट नजिक राखिएका एटीएमहरूमा बढी क्षति पुगेको छ। भाटभटेनीमा विभिन्न बैंकहरूले एउटै स्थानमा एटीएम राख्ने गरेका कारण, सुपरमार्केटमा आगलागी हुँदा त्यहाँ रहेका धेरैजसो मेसिन जलेर नष्ट भएका छन्।
पछिल्लो विवरणअनुसार देशभर कम्तीमा ४५ एटीएममा तोडफोड वा आगजनी भएको छ। बैंकिङ क्षेत्रलाई ठूलो चुनौती खडा गर्ने गरी व्यापक क्षति पुगेको संघले जनाएको छ।













