चालु खाता ७८ अर्ब १४ करोड र शोधनान्तर ८९ अर्ब ३० करोड बचतमा

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार सो अवधिमा चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३३ अर्ब ८ करोड रहेको थियो । अमेरिकी डलरमा पनि चालु खाता ५६ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको २५ करोडको तुलनामा उच्च वृद्धि देखिएको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफरमा पनि उल्लेखनीय वृद्धी भएको छ। १ अर्ब ४ करोडको खुद पुँजीगत ट्रान्सफर भित्रिएको छ, अघिल्लो वर्षको सोही अवधिमा २२ करोड मात्र रहेको थियो।
प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६९ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको ८० करोडको तुलनामा केही घटेको भए पनि कुल आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिन्छ।
शोधनान्तर स्थितिमा पनि सुधार देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको ४० अर्ब ९० करोडको तुलनामा दोब्बरभन्दा बढी बढोत्तरी भएको छ। अमेरिकी डलरमा शोधनान्तर स्थिति ६४ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको ३१ करोडको तुलनामा उल्लेखनीय वृद्धि देखिन्छ।













