७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

५ आश्विन २०८२, आईतवार ११:१५

काठमाडौं । वित्तीय प्रणालीमा थपिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । यसका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बोलकबोल प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।

हाल मुलुकको कुल निक्षेप ७२ खर्बभन्दा माथि पुगेकाले बढी तरलता र ब्याजदर नियन्त्रणका लागि केन्द्रीय बैंकले यो कदम चालेको हो । यसअघि पनि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत रकम तानेको छ ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । निक्षेप बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले प्रस्तुत गर्ने ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिने व्यवस्था छ ।

अनलाइन खरिद प्रणालीमार्फत हुने आजको बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले भाग जाने गरी रकम निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ । संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज १२ गते हुनेछ ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन स्वरूपको तरलता देखिएमा राष्ट्र बैंकले बढीमा छ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने प्रावधान छ । यही आधारमा पटक–पटक निक्षेप संकलनको प्रक्रिया अघि बढाउँदै आएको हो ।

nrb

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*