गैरबैंकिङ सम्पत्तिको चापले तनाबमा बैंकर: वर्षदिनमा १३ अर्ब थपियो, असफल बन्दै कर्जा नीति!

६ आश्विन २०८२, सोमबार १३:०८

काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले अपनाएको कमजोर कर्जा प्रवाह नीतिका कारण गैरबैंकिङ सम्पत्ति (एनपीए) वित्तीय क्षेत्रकै मुख्य चुनौती बनेको छ । ऋणीहरूले कर्जा तिर्न नसकेपछि बैंकहरूले धितोका रुपमा लिएको सम्पत्ति लिलामी प्रक्रियाबाट बिक्री नहुँदा आफैं ती सम्पत्तिको मालिक बन्न बाध्य आइपरिरहेको हो ।

बैंकहरूको सम्पत्ति सूचीकृत हिसाबले बढे पनि गुणस्तर भने लगातार कमजोर बनाउँदै लगेको छ । विशेषगरी जोखिम मूल्याङ्कनमा देखिएको कमजोरी, अत्यधिक घरजग्गामुखी धितोमा निर्भरता, नियामक निकायको कमजोर निगरानी र आन्तरिक व्यवस्थापनको असफलताले यो समस्या थप गहिरिँदै गएको छ । परिणामस्वरूप वित्तीय प्रणालीमा गैरबैंकिङ सम्पत्तिको भार दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेर भयावह भइरहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को साउनमा बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा ३६.९३ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ थियो ।

यसरी दिनहुँ बढ्दो गैरबैंकिङ सम्पत्तिले बैंकरहरूलाई मानसिक तनाव थपेको छ भने सुस्त रियल स्टेट कारोबारले समस्या झन् गहिरो बनाइदिएको छ । सम्पत्तिको मूल्याङ्कन उच्च राखेर कर्जा प्रवाह गरिएको, ऋणीको आयआर्जन क्षमतामा यथोचित ध्यान नदिएको, एक क्षेत्र विशेषमा अत्यधिक कर्जा प्रवाह गरिदिँदा उत्पन्न भएको बजारको अतिप्रवृत्ति अहिले बैंकहरूलाई घाटामा परिणत हुन थालेको छ ।

एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३६.४९ प्रतिशतले बढेर ४२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकको ३०.४२ प्रतिशतले बढेर खराब कर्जा ४ अर्ब ६८ करोड रुपैयाँ र फाइनान्स कम्पनीको ५५.९२ प्रतिशतले बढेर गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७ करोड रुपैयाँ छ ।

वाणिज्यको अवस्था कस्तो ?

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ८० करोड ७३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा ३६.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ थियो ।

सर्वाधिक गैरबैंकिङ सम्पत्ति रहने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । यसअवधिमा बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ५ करोड २६ लाख रहेको छ । जुन गत वर्षको तुलनामा १९.५४ प्रतिशतले बढी हो ।

दोस्रो नम्बरमा रहेको हिमालयन बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने तेस्रो नम्बरमा रहेको एनआईसी एशिया बैंकको ४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा प्राइम बैंकको ३ अर्ब ९१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८२ करोड, नबिल बैंकको ३ अर्ब ४५ करोड, कुमारी बैंकको २ अर्ब ५२ करोड र लक्ष्मी सनराइज बैंकको २ अर्ब २२ करोड गैरबैंकिङ सम्पत्ति रहेको छ ।

साउन मसान्तसम्म आइपुग्दा एनएमबि बैंकको १ अर्ब ७९ करोड, प्रभु बैंकको १ अर्ब ६१ करोड, कृषि विकास बैंकको १ अर्ब ३१ करोड, सिटिजन्स बैंकको १ अर्ब २६ करोड, सानिमा बैंकको १ अर्ब, नेपाल एसबिआई बैंकको ९४ करोड ७६ लाख, सिद्धार्थ बैंकको ७७ करोड २० लाख, माछापुच्छ्रे बैंकको ६० करोड, एभरेष्ट बैंकको ५६ करोड ४३ लाख, नेपाल बैंकको २६ करोड ४२ लाख र राष्ट्रिय वाणिज्य बैंकको २५ करोड ६७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*