दशैं–तिहारमा दैनिक ४० पटकसम्म वालेट कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम जम्मा गर्न सकिने कारोबार संख्याको सीमामा चार गुणाले वृद्धि गरेको छ । हाल प्राकृतिक व्यक्तिको वालेटमा दैनिक १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा केन्द्रीय बैंकले बढाएर दशैं, तिहार तथा छठका लागि ४० पटकसम्म पुर्याएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार दशैंका लागि असोज १३ गतेदेखि २१ गतेसम्म र तिहार तथा छठका लागि कात्तिक ३ देखि १० गतेसम्मका लागि कारोबार संख्याको सीमा बढाएको हो । चाडपर्वमा खुद्रा कारोबार बढ्ने भएकाले कारोबारको संख्या बढाइएको राष्ट्र बैंकले जनाएको छ ।
कारोबार संख्या बढाए पनि रकमको सीमा यथावत् छ, जसअनुसार बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा दैनिक २ लाख र प्रतिमहीना १० लाख रुपैयाँको सीमा छ । यस्तै एक वालेटबाट अर्को वालेटमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा तोकिएको छ ।
राष्ट्र बैंकले सीमा वृद्धि गरेको अवधिभर भएको कारोबारको संख्या र कारोबार रकमको छुट्टै विवरण बुझाउन पनि कम्पनीहरूलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकका अनुसार हाल २२ ओटा वालेट कम्पनीहरूका २ करोड ४४ लाख प्रयोगकर्ता रहेका छन् । चालू आवको साउनमा वालेटमार्फत तीन करोड ९६ लाख ओटा कारोबार भएका छन् । सो अवधिमा भएको कारोबार रकम ४५ अर्ब ४४ करोड रुपैयाँ बराबर रहेको छ ।













