अब सबै डिजिटल कारोबारको अन्तिम सेटलमेन्ट राष्ट्र बैंकको प्रणालीबाट हुने

२६ आश्विन २०८२, आईतवार १९:३१

काठमाडौं । अब सबै डिजिटल कारोबारको अन्तिम राफसाफ (सेटलमेन्ट) राष्ट्र बैंकको प्रणालीबाट हुने भएको छ।

राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच सम्बन्धि सन्दर्भ प्रतिवेदन सार्वजनिक गर्दै साझेदारहरूसँग सल्लाह सुझाव मागेको छ।

यो प्रतिवेदनमा प्राप्त सल्लाह सुझावअनुसार आवश्यक संशोधन भएपछि मात्रै यो व्यवस्था कार्यान्वयनमा आउनेछ।

अहिले नेपाल पे, फोन पे, एससिटी जस्ता आठ कम्पनीले भुक्तानी सेवा प्रदायकको रूपमा काम गरिरहेका छन्। अर्थात् मुलुकमा जतिपनि भुक्तानी भइरहेका छन् ती सबै यी आठ कम्पनीको प्रणाली प्रयोग गरेर भइरहेको छ।

यी प्रणालीमार्फत् हुने कारोबार उनीहरूले तोकिएको वाणिज्य बैंकमार्फत् राफसाफ हुँदै आएको छ।

अब पनि कारोबारको लागि ती आठ वटै कम्पनीको प्रणालीको प्रयोग हुनेछ। तर, यस्तो कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणाली रियल टाइम ग्रस सेटलमेन्टबाट हुने भएको हो।

रियल टाइम ग्रस सेटलमेन्टमार्फत् अन्तिम राफसाफ हुनुअघि यस्ता कारोबार नेशनल पेमेन्ट स्विच हुँदै राष्ट्र बैंकको प्रणालीमा आउनेछ।

हाल नेशनल पेमेन्ट स्विचको सञ्चालन नेपाल क्लियरिङ हाउस ९एनसिएचएल० ले गरिरहेको छ। अहिले २० लाखभन्दा माथिको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली मार्फत् नै हुनुपर्ने व्यवस्था छयो प्रणालीबाट न्यूनतम दुई लाख सम्मको कारोबार पनि गर्न सकिने व्यवस्था छ।

२० लाखभन्दा कम रकमको कारोबारको लागि भने अन्य प्रणालीको समेत प्रयोग हुने गरेका छन्।

कारोबारको अन्तिम राफसाफ राष्ट्र बैंकको प्रणालीबाट हुने व्यवस्थाले मुलुकभित्र हुने कारोबारको स्पष्ट तथ्यांक आउने बताइएको छ।

त्यस्तै, प्रणालीमा गर्न लागिएको यो विकासले भुक्तानी सेवा प्रदायकहरूको प्रणालीबीच अन्तरआबद्धता समेत कायम हुनेछ। अर्थात् यी जुन सुकै प्रणालीको प्रयोग गरेर जुनसुकै प्रणालीमा भुक्तानी वा कारोबार गर्न सकिनेछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*