पुँजी बजारमा रौनकः हाइड्रोपावरका लगानीकर्ता मालामाल, के मार्केट लयमा आएको हो ?

१३ कार्तिक २०८२, बिहीबार १५:०९

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । बुधबार झिनो अकंले घटेको बजार आज भने दोहोरो अकंले बढ्न पुगेको हो ।

बजारमा आइरहेको हरियालीपछि लगानीकर्ताले उत्साहित भएका छन् । कारोबार रकम समेत निरन्तर बढ्दो क्रममा रहेको छ । लगानीकर्ताको मनोबल विस्तारै बलियो हुँदै जाँदा बजारमा समेत रौनक देखिन थालेको हो ।

विशेषगरी केन्द्रिय बैंकले शेयर बजारलाई बाधा गर्ने केहि नीति सुधार गर्दै लगेपछि बजारमा उत्साह आएको हो । दशैं र तिहारले गर्दा केहि दबाबमा रहेको बजार विस्तारै सकारात्मक हुँदै गएको छ । बजारका लागि आवश्यक सबै नीति सकारात्मक रहेको, ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको, सरकार र नियामक निकाय समेत बजारप्रति उदारवादी रहेको हुँदा बजार अबको यात्रा सुधार तिर लम्किने अपेक्षा गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२२ अकंले बढेर २६००.३८ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको १.६० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७५ प्रतिशत, जलविद्युत समूहको २.६७ प्रतिशतले शेयर मूल्य बढेको छ । म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै घट्न पुगेको छ ।

बिहिबार २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहन पुगेको छ ।

यता, गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*